काठमाडौं: दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानी आवेदकको घरमै पुर्याउने व्यवस्था सुरु गरेको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै इमिरेट्स पोष्टमार्फत राहदानी डेलिभरी गर्ने निर्णय गरिएको दूतावासले जनाएको छ।
राहदानी लिनकै लागि कार्यालयमा आउनुपर्ने बाध्यता, समयको बचत र यात्रा खर्च कटौती गर्नका लागि यस्तो व्यवस्था मिलाइएको हो। राहदानीका लागि आवेदन दिने व्यक्तिले बायोमेट्रिक दर्ता गर्ने समयमा नै डेलिभरी फाराम भरेर बुझाउनुपर्नेछ।
राहदानी तयार भएपछि दूतावासले इमिरेट्स पोष्टमार्फत सम्बन्धित व्यक्तिको ठेगानामा पठाउनेछ। यो सेवा लिन चाहने सेवाग्राहीले इमिरेट्स पोष्टलाई डेलिभरी शुल्कबापत १५.७५ दिराम बुझाउनुपर्नेछ। जसमा १५ दिराम शुल्क र भ्याट समावेश गरिएको छ।
महावाणिज्यदूतावासका अनुसार यो सेवा पूर्ण रूपमा स्वैच्छिक हो। राहदानी घरमै डेलिभरी आवश्यक पर्ने सेवाग्राहीले मात्र यो सुविधा उपयोग गर्न सक्नेछन्।
