काठमाडौं। अमेरिका र इरानबिच युद्धविरामको सम्भावनाबारे वार्ता भइरहेका बेला शुक्रबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। साउदी अरेबियामाथि हुथी विद्रोहीहरूको आक्रमण बढेपछि आपूर्ति अवरुद्ध हुने चिन्ताका बिच बजारले युद्धविरामको सम्भावनालाई सकारात्मक रूपमा लिएको छ।
शुक्रबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १.४७ डलर अर्थात् १.४ प्रतिशतले घटेर प्रति ब्यारेल १०५.११ डलर कायम भएको छ। त्यसैगरी, वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य २ डलर अर्थात् २.१ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.६१ डलरमा झरेको छ। एक साताको अस्थिर कारोबारपछि शुक्रबार तेलको मूल्यमा थप गिरावट आएको हो।
न्यूयोर्कमा जारी वार्तामा अमेरिकी र इरानी प्रतिनिधिहरू द्वन्द्वबाट बाहिर निस्कने मार्गचित्रबारे छलफल गरिरहेका छन्। छलफलमा संलग्न स्रोतका अनुसार तेहरानले होर्मुजको जलमार्ग पुनः सञ्चालन गर्ने र वासिङ्टनले इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी हटाउने विषयमा कुराकानी भइरहेको छ। बिहीबार इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध अन्त्यको निर्णय गर्ने जिम्मा अमेरिकाको हातमा रहेको बताएका थिए।
