धनगढी: सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अन्त्य गर्दै शीघ्र नयाँ बजेट ल्याउने विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच सर्वदलीय सहमति भएको छ। शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले बजेट निर्माण प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो।
अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको थियो। यसलाई अन्त्य गर्न दलहरूले नयाँ बजेट ल्याउने विषयमा एकमत जनाएका छन्। बैठकमा प्रदेशको बजेटमा देखिँदै आएका बेथिति रोक्ने र योजना निर्माण प्रक्रियालाई व्यवस्थित बनाउनेबारे छलफल भएको थियो।
बैठकमा साना तथा टुक्रे योजनाहरूलाई निरुत्साहित गर्दै प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा बजेट निर्माण गर्ने विषयमा जोड दिइएको छ। प्रदेश सभा सदस्यहरूले सिफारिस गर्ने योजनासमेत रणनीतिक र ठूला प्रकृतिका हुनुपर्नेमा दलहरू सहमत देखिएका छन्। अनावश्यक योजनाका कारण बजेटमा देखिने विकृति अन्त्य गर्ने र प्रदेशको समग्र विकासमा प्रभाव पार्ने ठूला आयोजनालाई प्राथमिकता दिने निर्णय गरिएको छ।
उक्त बैठकमा मुख्यमन्त्री भट्टसहित नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खेमादेवी बिष्टसहित बहालवाला तथा पूर्वमन्त्रीहरूको सहभागिता रहेको थियो।
