नवलपुर। लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पुलमाथि सवारी साधन चलाउन र मानिसको आवातजावतमा प्रतिबन्ध लगाइएको छ ।
नदीको बहाव उच्च र जोखिमपूर्ण बन्दै गएकाले सुरक्षाका लागि यस्तो निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई पुलमा नजान र सवारी साधन नचलाउन आग्रह गरिरहेको छ । देवघाट जलमापन केन्द्रका अनुसार हाल नारायणी नदीमा पानीको सतह ११.८४ मिटर पुगेको छ । नदीमा ७.३ मिटरको सतहलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ । हालको बहाव खतराको तहभन्दा निकै माथि पुगेको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरीले जोखिम बढेकाले नदी किनारमा दाउरा टिप्न नजान पनि सबैमा अनुरोध गरेको छ । नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
