काठमाडौं: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका-११ र ९ जोड्ने रङसिङ खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका छन्। आइतबार आयोजित एक कार्यक्रमका बीच पुलको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस संरचनाको निर्माणसँगै वर्षायाममा स्थानीयवासीले भोग्दै आएको आवतजावतको समस्या समाधान भएको बताएका छन्।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक, पुल, खानेपानी, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे। उनले विकास निर्माणका कार्यसँगै ती पूर्वाधारको संरक्षण र रेखदेखमा स्थानीय समुदाय र जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए।
त्यस्तै, सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले पुल निर्माण जनप्रतिनिधिहरूको साझा प्रयासको उपलब्धि भएको बताए। उनले यस पुलले शितगंगाका दुर्गम बस्तीहरूलाई विकासको मूलधारसँग जोड्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पुल निर्माण भएसँगै शितगंगा-११ र ९ का बासिन्दाहरूको दैनिक आवागमन सहज हुने भएको छ। स्थानीयस्तरमा उत्पादित कृषि उपजको बजारीकरण, विद्यार्थीहरूको विद्यालय आवतजावत तथा स्वास्थ्य उपचारका लागि अस्पताल पुग्न स्थानीयलाई अब सजिलो हुने अपेक्षा गरिएको छ।
