काठमाडौं। कामना सेवा विकास बैंकका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंमा आश्रय लिइरहेका नागरिकहरूलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री हस्तान्तरण गरेका छन्।
प्राकृतिक विपद्का कारण विस्थापित परिवारहरूको स्वास्थ्य र सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै बैंकका महिला कर्मचारीहरूले उक्त सामग्री संकलन गरी वितरण गरेका हुन्। बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले सो सामग्री हस्तान्तरण गरेकी हुन्।
यसअघि बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत, उद्धार र पुनःस्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ र कर्मचारीहरूको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ। बैंकले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग जारी राख्ने जनाएको छ।
