काठमाडौं: लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाका भएर हुने नेपाल-भारत आवागमन प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ७५ हजार ७०० क्युसेक पुगेको छ।
नदीमा बहाव बढेसँगै भारतीय पक्षले शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। हाल सो पुलबाट मोटरसाइकल र साना सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ। करिब १०० वर्ष पुरानो उक्त पुलमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि भारतीय पक्षले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरू दार्चुला, बैतडी, डडेल्धुरा र भारतीय क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण नदीमा जलस्तर बढेको हो। प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैबीच, विपद्को जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरको महेन्द्रनगर र बेलौरीबाट सञ्चालन हुने लामो दुरीका सवारीसाधन दुई दिनदेखि बन्द गरिएको छ। महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टले शुक्रबारदेखि काठमाडौं र पोखरा लगायतका स्थानमा जाने यात्रुवाहक बस सञ्चालन नभएको जानकारी दिनुभयो। अध्यक्ष भट्टले भन्नुभयो, “धनगढी-महेन्द्रनगर लगायत छोटो दुरीका सवारीसाधन चले पनि लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन पठाइएको छैन। पहाडमा लगातारको वर्षाले पहिरोको जोखिम छ।”
