काठमाडौं: अविरल वर्षाका कारण मुलुकको जनजीवनसँगै नेपाली चलचित्र व्यवसाय पनि प्रभावित बनेको छ। लगातारको वर्षाले दर्शकहरू चलचित्र हलसम्म पुग्न नसक्दा प्रदर्शनरत चलचित्रको व्यापारमा कमी आएको हल सञ्चालकहरूले बताएका छन्।
शुक्रबार प्रदर्शनमा आएका नयाँ चलचित्र ‘आचार्य बा: एक योद्धा’ र ‘जदौ’ ले प्रतिकूल मौसमका कारण अपेक्षित दर्शक पाउन सकेका छैनन्। चलचित्र प्रदर्शनको पहिलो तीन दिनलाई व्यापारका लागि महत्त्वपूर्ण मानिए पनि बाहिर निस्कने वातावरण नहुँदा नयाँ चलचित्रहरूले चुनौतीको सामना गरिरहेका छन्।
बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले दर्शक हलसम्म आउने वातावरण नहुनु नै अहिलेको मुख्य समस्या रहेको बताए। उनले भने, “बिहान र दिउँसोका शोहरूमा ५० प्रतिशतसम्म हल भरिएका छन् तर साँझ शून्यजस्तै छ। कति स्थानमा हाई अलर्ट सूचना जारी भएको हुँदा मानिस बाहिर निस्कन सकिरहेका छैनन्।”
त्यस्तै, चलचित्र ‘बा: एक योद्धा’ का निर्देशक हरि लम्सालले दर्शकको चासो भए पनि मौसमका कारण उपस्थितिमा उतारचढाव आएको बताए। उनले पानी रोकिएपछि व्यापारले गति लिने विश्वास व्यक्त गरे।
वर्षाको प्रभाव नयाँ चलचित्रमा मात्र नभई अघिल्लो सातादेखि प्रदर्शनरत चलचित्रहरूमा पनि परेको छ। ‘पेन्सन पट्टा’, ‘बेहुली’, ‘भिङ्गेदाउ २’, ‘पार्वती’, ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ जस्ता चलचित्रको नियमित व्यापारिक गतिमा असर देखिएको छ।
वितरक रोहित कट्टेलले ‘पेन्सन पट्टा’ ले पहिलो र दोस्रो हप्ता राम्रो व्यापार गरे पनि शुक्रबारदेखि वर्षाका कारण अकुपेन्सी घटेको जानकारी दिए। असोज महिनामा करिब एक दर्जन चलचित्र प्रदर्शन हुँदैछन्। दसैँको समयमा व्यापार बढ्ने अपेक्षा गरिए पनि मौसमको अनिश्चितताले निर्माता र प्रदर्शक दुवैलाई चिन्तित बनाएको छ।
