काठमाडौं: मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु तीन अर्ब सात करोड ५० लाख राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो। यस अवधिमा निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार साउन महिनामा रु एक अर्ब ४३ करोड ५० लाखको लक्ष्य राखिएकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार राजस्व सङ्कलन भएको थियो। त्यस्तै भदौ महिनामा रु एक अर्ब ६४ करोडको लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ। साउनमा लक्ष्यको ८९.१९ प्रतिशत राजस्व सङ्कलन भएकामा भदौमा सो दर ९४.७३ प्रतिशत पुगेको छ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले अघिल्लो आर्थिक वर्षको भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व सङ्कलन ९.४३ प्रतिशतले वृद्धि भएको जानकारी दिए। गत वर्षको भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो। सीमापार व्यापारमा आएको क्रमिक सुधार र भन्सार प्रशासनमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको प्रमुख भन्सार अधिकृत न्यौपानेले बताए।
