काठमाडौं। चार दिनसम्म लगातार परेको वर्षा रोकिएपछि पोखराको मौसम खुलेको छ। मौसममा सुधार आएसँगै पर्यटकीय गतिविधिहरू पुनः चलायमान बनेका छन्।
सोमबार बिहानैदेखि मौसम सफा भएसँगै फेवातालमा डुङ्गा सयर गर्ने र विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गर्नेहरूको चहलपहल बढेको छ। शरद ऋतु पर्यटनका लागि उत्तम समय मानिने भएकाले अब पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ।
मौसम सफा भएपछि अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिलगायतका हिमशृङ्खलाहरू प्रस्ट रूपमा देखिन थालेका छन्। हिमालको दृश्यावलोकन गर्नका लागि अहिलेको समय निकै उपयुक्त मानिन्छ। असोज महिनाबाट सुरु हुने शरद ऋतुमा पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ।
