काठमाडौं। वराहक्षेत्र नगरपालिका: १ को चुरे क्षेत्रका किसान सिँचाइ सुविधाको अभावमा लामो समयदेखि बेसार खेतीमा निर्भर रहँदै आएका छन्।
सूर्यकुण्ड, चियाबारी, धापसी, अर्चले, कटारे र चावचा क्षेत्रमा गरी १० हेक्टर क्षेत्रफलमा बेसार खेती हुँदै आएको स्थानीय अगुवा कृषक अर्जुन कुलुङ राईले बताउनुभयो। यहाँका किसानले चैत र वैशाख महिनामा बेसार रोप्ने र पुस तथा माघ महिनामा खन्ने गर्दछन्।
कृषक अर्जुन कुलुङले दुई दशकदेखि १० कट्ठा जग्गामा बेसार खेती गर्दै आएको छ। उनका अनुसार सुकेको बेसार प्रतिकेजी २८० रुपियाँभन्दा बढीमा चतरा र धरान बजारमा बिक्री हुने गरेको छ। गत वर्ष मात्रै उनले चार क्विन्टल सुकेको बेसार बिक्री गरेकाे थियो। बेसारसँगै अदुवा र अम्रिसो खेती गरिए पनि सिँचाइको अभावमा अन्य बालीको उत्पादन नियमित नहुने भएकाले बेसार नै मुख्य भरपर्दो बाली बनेको स्थानीय रामबहादुर राईले बताए।
केही किसानले पछिल्लो समय प्लास्टिक पोखरी निर्माण गरी लिफ्ट प्रविधिमार्फत पानी तानेर स्ट्रबेरी खेती पनि सुरु गरेका छन्। अर्जुन कुलुङले पाँच वर्षदेखि डेढ बिघामा स्ट्रबेरी खेती गरिरहेएको छ। तर, अधिकांश किसान अझै पनि वर्षाको पानीमै निर्भर रहनुपर्ने बाध्यता छ। नजिकै कोशी नदी बगे पनि खेतबारीमा पानी पुर्याउन नसकिएको किसानको गुनासो छ।
सिँचाइको सुविधा विस्तार हुन सके व्यावसायिक तरकारी र नगदेबालीबाट राम्रो आम्दानी गर्न सकिने कृषक तपेन्द्र राई बताउछन्। वराहक्षेत्र-१ को चुरे क्षेत्रमा करिब एक हजार घरपरिवारको बसोबास छ। बर्खायाममा कच्ची सडक अवरुद्ध हुँदा उत्पादित कृषि उपज बजारसम्म पुर्याउन थप समस्या हुने गरेको कृषक दशरथ राईले बताए।
