काठमाडौं: ताप्लेजुङको हिमाली बस्ती फले र घुन्सामा स्याउको व्यावसायिक खेतीको सम्भावना देखिएको छ। यहाँ गरिएको स्याउको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक खेतीका लागि बलियो आधार तयार भएको हो।
फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार परीक्षण गरिएका स्याउको गुणस्तर, स्वाद, दाना र चिनीको मात्रा मापदण्डअनुसार पाइएको छ। स्थानीय किसान र विभिन्न संस्थाको सहकार्यमा गरिएको यो परीक्षणले स्थानीयमा उत्साह थपेको छ। फले समुद्र सतहबाट ३ हजार २ सय ३२ मिटर र घुन्सा ३ हजार ४ सय ७५ मिटरको उचाइमा अवस्थित छन्। यी दुवै बस्ती कञ्चनजंघा पदमार्गमा पर्दछन्।
पुतली सहयोग परियोजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारीमा दिगो पर्यावरणीय कृषि प्रणालीअन्तर्गत फले र घुन्सामा दुई-दुई रोपनी क्षेत्रफलमा नमुना बगैँचा विस्तार गरिएको थियो। इटालीबाट ल्याइएका फुजी, गाला र गोल्डेन डेलिसियस प्रजातिका स्याउका बिरुवा परीक्षणका लागि रोपिएका थिए।
पालिका अध्यक्ष लिम्बूले व्यावसायिक उत्पादनलाई मुख्य माध्यम बनाउने योजना रहेको बताए। उनले भने, व्यावसायिक उत्पादनमा जोड दिने र उत्पादित कृषिजन्य वस्तुको बजारीकरण सुनिश्चित गरी आत्मनिर्भरताबाट व्यवसायमुखी कृषि प्रणालीमा किसानलाई आबद्ध गर्नेछौँ। किसानका उत्पादनलाई बिचौलियाको प्रभावबाट जोगाउन पालिकाले कृषि एम्बुलेन्ससमेत सञ्चालनमा ल्याइसकेको छ। कञ्चनजंघा पदमार्गमा पर्ने भएकाले यहाँको स्याउको बजार सुनिश्चित हुने अपेक्षा गरिएको छ।
