काठमाडौं। अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब ६० अर्ब अमेरिकी डलर बराबरका विभिन्न वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने सहमति गरेका छन्। सहमतिअनुसार दुवै देशले ३०-३० अर्ब डलर बराबरका गैरसंवेदनशील वस्तुमा भन्सार व्यवस्था सहज बनाउने भएका छन्।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार यस कदमबाट चीनमा निर्यात हुने अमेरिकी वस्तुमध्ये करिब ३० प्रतिशतले बजार पहुँचमा सुधार पाउनेछन्। चीनले मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ र वनस्पति तेललगायतका कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको छ। यद्यपि, सोयाबिनलाई भने यो सूचीमा समावेश गरिएको छैन। यसबाहेक चीनले अमेरिकी माछा, समुद्री खाद्य पदार्थ, काठ, सौन्दर्य सामग्री र चिकित्सा उपकरणमा पनि भन्सार कटौती गर्ने तयारी गरेको छ।
अमेरिकाले पनि चीनबाट आयात हुने कफी मेसिन, टोस्टर, टेबलवेयर र ओछ्यानका कपडामा पारस्परिक रूपमा भन्सार घटाउने भएको छ। साथै, खेलौना, सजावटी सामग्री र बालबालिकाका कार सिट पनि यस सूचीमा समावेश छन्। यो सहमति गत साता वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको दोस्रो शिखर बैठकपछि सार्वजनिक भएको हो।
यसैबीच, दुवै देशबीच जारी व्यापार युद्धविरामलाई थप दुई महिना लम्ब्याउने सहमति पनि भएको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार युद्धविरामको अवधि जनवरी १० सम्म कायम रहनेछ। मन्त्रालयले यस अवधिले दुवै पक्षलाई आर्थिक तथा व्यापारिक समस्या समाधानका लागि भइरहेको व्यवस्थाको समीक्षा गर्न र थप सहकार्यका विषयमा छलफल अघि बढाउन मद्दत पुग्ने जनाएको छ। व्यापार युद्धविरामको विस्तारले दुवै देशका कम्पनीबीच सहकार्य र निरन्तर वार्ताका लागि स्थिर तथा पूर्वानुमानयोग्य नीतिगत वातावरण सिर्जना गर्ने चीनको भनाइ छ।
