udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

जेपी मोर्गन : संकटदेखि वित्तीय साम्राज्यसम्म

रेलमार्गदेखि स्टिल उद्योगसम्म पुँजी र साख विस्तार गर्दै मोर्गनले संकट व्यवस्थापनलाई वित्तीय साम्राज्य निर्माणको रणनीतिमा बदले।

जेपी मोर्गन : संकटदेखि वित्तीय साम्राज्यसम्म
A A+ A-

अमेरिकाको औद्योगिक इतिहासमा केही यस्ता व्यवसायी छन्, जसले आफ्नै कारखाना खडा गरेर साम्राज्य बनाएनन्, तर अरूका कम्पनी, उद्योग र पुँजीलाई एक ठाउँमा जोडेर आफ्नो प्रभाव विस्तार गरे।

जे. पियरपोन्ट मोर्गन त्यही दुर्लभ व्यवसायी थिए। उनको हातमा ठूलो उत्पादन कारखाना थिएन, आफ्नै नामको रेलमार्ग थिएन र स्टिल कारखानामा मजदुरको लाम थिएन।

उनको वास्तविक शक्ति पैसा मात्रै पनि थिएन। त्यो थियो पुँजी कहाँ जाने, कसलाई ऋण दिने, कुन कम्पनीलाई पुनर्संरचना गर्ने, कुन उद्योगलाई एकीकृत गर्ने र संकटका बेला बजारमा कसरी विश्वास फर्काउने भन्ने निर्णयमा बनेको प्रभाव।

१९ औँ शताब्दीको उत्तरार्धमा अमेरिकी अर्थतन्त्र तीव्र औद्योगिकीकरणतर्फ बढिरहेको थियो।

रेलमार्गको विस्तारले देशका बजार जोडिरहेको थियो, स्टिल उत्पादन तीव्र गतिमा बढिरहेको थियो र ठूला कम्पनीहरू जन्मिरहेका थिए। यही विस्तारसँगै अर्को समस्या पनि बढ्दै थियो। धेरै कम्पनी ऋणमा आधारित भएर विस्तार गरिरहेका थिए, रेलमार्गहरूबीच तीव्र प्रतिस्पर्धा थियो, व्यवस्थापन कमजोर थियो र वित्तीय बजार पटकपटक संकटमा पर्थ्यो।

मोर्गनले यही अस्थिर वातावरणमा आफ्नो व्यवसायिक मोडल निर्माण गरे। उनले बैंकिङलाई केवल पैसा राख्ने र ऋण दिने व्यवसायका रूपमा हेरेनन्।

कम्पनी समस्यामा परेपछि त्यसको वित्तीय संरचना बदल्ने, व्यवस्थापन सुधार्ने, लगानीकर्ताको विश्वास फर्काउने, प्रतिस्पर्धी कम्पनीहरूलाई एउटै संरचनामा ल्याउने र आवश्यक परे उद्योगको स्वामित्व संरचनामै हस्तक्षेप गर्ने मोडल उनले विकास गरे।

यही कारण उनको वित्तीय संस्था अमेरिकी औद्योगिक विस्तारसँग गहिरोसँग जोडियो।

व्यापारिक घरानाबाट वित्तीय शक्तितर्फ

जे. पियरपोन्ट मोर्गन सन् १८३७ मा जन्मिएका थिए। उनका पिता जुनियस एस. मोर्गन बेलायतमा व्यापार तथा बैंकिङ क्षेत्रमा स्थापित व्यक्ति थिए। परिवारको यही वित्तीय पृष्ठभूमिले मोर्गनलाई सुरुदेखि नै अन्तर्राष्ट्रिय व्यापार र पुँजी बजारसँग जोड्ने वातावरण बनायो।

सन् १८५० को दशकको अन्त्यतिर उनले बैंकिङ क्षेत्रमा प्रवेश गरे। त्यस समय अमेरिकी वित्तीय बजार आजको जस्तो व्यवस्थित थिएन। एउटै केन्द्रीय बैंकको अभाव थियो, बैंकहरूको पहुँच सीमित थियो र कम्पनीहरूले ठूलो परियोजनाका लागि आवश्यक पुँजी जुटाउन वित्तीय मध्यस्थको भूमिका अत्यन्त महत्वपूर्ण हुन्थ्यो।

मोर्गनले व्यक्तिगत कारोबारभन्दा संस्थागत कारोबारमा आफ्नो भविष्य देखे।

सन् १८७१ मा उनले फिलाडेल्फियाका प्रभावशाली बैंकर एन्थोनी ड्रेक्सेलसँग साझेदारी गरे। ड्रेक्सेल, मोर्गन एन्ड कम्पनीको स्थापना अमेरिकी वित्तीय बजारमा उनको वास्तविक शक्तिको आधार बन्यो। पछि यही संस्थागत संरचना विकसित हुँदै जेपी मोर्गन एन्ड कम्पनीमा पुग्यो।

उनको व्यवसायिक दृष्टिकोणको एउटा महत्वपूर्ण पक्ष थियो, कम्पनीको वित्तीय समस्या र व्यवसायिक समस्या छुट्टाछुट्टै होइनन् भन्ने बुझाइ। कुनै कम्पनी ऋण तिर्न नसक्ने अवस्थामा पुगेको छ भने त्यसलाई पैसा थपेर मात्र बचाउन सकिँदैन भन्ने उनको अभ्यास थियो।

कम्पनीको ऋण संरचना, व्यवस्थापन, स्वामित्व, उत्पादन र बजार रणनीतिलाई एकैपटक हेर्नुपर्ने उनको शैली थियो।

यही शैलीले उनलाई परम्परागत बैंकरभन्दा फरक बनायो। उनी कम्पनीको खातामा पैसा राखेर ब्याज कमाउनेभन्दा कम्पनीलाई नै पुनर्संरचना गरेर त्यसको भविष्य सुरक्षित गर्ने कारोबारमा सक्रिय भए।

अमेरिकाको औद्योगिक विस्तारसँगै यो मोडल अत्यन्त प्रभावकारी बन्यो। रेलमार्ग, ऊर्जा, सञ्चार, स्टिल र अन्य ठूला उद्योगलाई ठूलो पुँजी आवश्यक थियो। मोर्गनको संस्था यस्ता परियोजनाको वित्तीय संरचना निर्माण गर्ने केन्द्र बन्दै गयो।

रेलमार्गको संकटमा अवसर

मोर्गनको व्यवसायिक साम्राज्य विस्तार गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्रमध्ये रेलमार्ग थियो। अमेरिकी रेलमार्ग उद्योग तीव्र गतिमा फैलिरहेको थियो। तर तीव्र विस्तारसँगै कम्पनीहरूबीच प्रतिस्पर्धा, अत्यधिक ऋण, कमजोर व्यवस्थापन र दोहोरो पूर्वाधारको समस्या पनि बढेको थियो।

धेरै रेलमार्ग कम्पनीहरू नाफा कमाउनभन्दा बजार हिस्सा बढाउन दौडिरहेका थिए। नयाँ लाइन निर्माण, ऋण उठाउने र प्रतिस्पर्धीलाई पछाडि पार्ने दौडले उद्योगलाई अस्थिर बनाइरहेको थियो। मोर्गनले यही अवस्थामा आफ्नो वित्तीय मोडल प्रयोग गरे।

उनको रणनीति केवल समस्यामा परेको कम्पनीलाई ऋण दिने थिएन। उनी कम्पनीका ऋणदाताहरू, शेयरधनीहरू र व्यवस्थापनलाई एउटै टेबलमा ल्याउँथे। ऋण पुनर्संरचना गरिन्थ्यो।

आवश्यक परे नयाँ पूँजी जुटाइन्थ्यो। व्यवस्थापनमा परिवर्तन गरिन्थ्यो। प्रतिस्पर्धा घटाउन कम्पनीहरूबीच सहकार्य वा एकीकरणको संरचना बनाइन्थ्यो। यसले मोर्गनलाई रेलमार्गको मालिक नहुँदा पनि रेलमार्ग उद्योगमा ठूलो प्रभाव बनाउने अवस्था सिर्जना गर्‍यो।

इतिहासकारहरूका अनुसार उनले धेरै आर्थिक रूपमा समस्याग्रस्त रेलमार्गको पुनर्संरचना र एकीकरणमा भूमिका खेले र एक समय अमेरिकी रेलमार्गको ठूलो हिस्सामा उनको प्रभाव पुगेको थियो।

यो मोडलको मूल कुरा पुँजीमाथिको नियन्त्रणभन्दा पनि पुँजीको प्रवाहमाथिको प्रभाव थियो। कुन कम्पनीलाई नयाँ ऋण दिने, कुन कम्पनीको ऋण पुनर्संरचना गर्ने र कुन उद्योगमा नयाँ लगानी आवश्यक छ भन्ने निर्णयमा उनको संस्थाको भूमिका बढ्दै गयो।

रेलमार्गबाट मोर्गनले एउटा महत्वपूर्ण व्यवसायिक पाठ स्थापित गरे।

अत्यधिक प्रतिस्पर्धाले कहिलेकाहीँ उद्योगलाई कमजोर बनाउँछ भने एकीकरणले लागत घटाउन, व्यवस्थापन सुधार्न र पुँजीको प्रयोग व्यवस्थित गर्न सक्छ। त्यसबेलाको अमेरिकी उद्योगमा यो अवधारणा निकै शक्तिशाली साबित भयो।

तर यही कारण मोर्गनको प्रभावमाथि प्रश्न पनि उठ्न थाले। ठूलो संख्यामा कम्पनीको वित्तीय संरचना केही सीमित वित्तीय घरानाको प्रभावमा जान थालेपछि बजारमा आर्थिक शक्तिको केन्द्रीकरणबारे बहस सुरु भयो।

मोर्गनका लागि भने त्यो नै उनको व्यवसायिक मोडलको शक्ति थियो। उनले कम्पनी किन्नुभन्दा पहिले त्यसलाई वित्तीय रूपमा नियन्त्रण गर्न सकिने संरचना बनाउने प्रयास गरे। पैसा, ऋण, शेयर, व्यवस्थापन र विश्वसनीयताको संयोजन उनको मुख्य औजार बन्यो।

उद्योग जोड्ने नयाँ व्यापारिक मोडल

रेलमार्गपछि अमेरिकी औद्योगिक विस्तारको अर्को ठूलो आधार स्टिल थियो। भवन, पुल, रेलमार्ग, कारखाना र अन्य पूर्वाधारका लागि स्टिलको माग बढ्दै थियो। एन्ड्र्यु कार्नेगीको नेतृत्वमा कार्नेगी स्टिल विशाल उत्पादन शक्ति बनिसकेको थियो।

मोर्गनले यहाँ पनि उद्योगलाई व्यक्तिगत कम्पनीहरूको समूहका रूपमा मात्र हेरेनन्। उनको दृष्टिमा अमेरिकी स्टिल उद्योगलाई ठूलो, संगठित र वित्तीय रूपमा बलियो संरचनामा ल्याउने अवसर थियो।

सन् १९०१ मा कार्नेगी स्टिलसहित विभिन्न स्टिल व्यवसायलाई एकीकृत गरेर युनाइटेड स्टेट्स स्टिल कर्पोरेसन निर्माण गरियो। मोर्गन यस प्रक्रियाका प्रमुख वित्तीय पात्र थिए। कम्पनीको स्थापनामा एन्ड्र्यु कार्नेगी, जेपी मोर्गन र चार्ल्स स्वाबसहितका उद्योग तथा वित्त क्षेत्रका प्रमुख व्यक्तिहरू जोडिएका थिए।

यो कारोबार अमेरिकी व्यवसाय इतिहासको एउटा निर्णायक मोड थियो। युनाइटेड स्टेट्स स्टिल विश्वकै पहिलो अर्ब डलर मूल्यांकन भएको औद्योगिक कम्पनीका रूपमा स्थापित भएको थियो।

मोर्गनको दृष्टिमा यो केवल एउटा ठूलो कम्पनी बनाउने कारोबार थिएन। विभिन्न कम्पनीको उत्पादन क्षमता, कच्चा पदार्थ, बजार र वित्तीय संरचनालाई एउटै संस्थागत ढाँचामा ल्याउने प्रयास थियो।

कार्नेगीले उत्पादन र लागतमा आफ्नो शक्ति बनाएका थिए। मोर्गनले त्यसलाई वित्तीय संरचना र संस्थागत एकीकरणसँग जोडे। यही संयोजनले अमेरिकी स्टिल उद्योगलाई नयाँ आकार दियो।

यस घटनाले मोर्गनको व्यवसायिक शैलीलाई अझ स्पष्ट बनायो। उनी आफैं उत्पादन गर्ने व्यवसायीभन्दा उद्योगको संरचना परिवर्तन गर्ने वित्तीय व्यवसायी थिए। कम्पनीको मूल्य केवल त्यसले आज कति उत्पादन गर्छ भन्नेमा होइन, भविष्यमा त्यसलाई कति व्यवस्थित र एकीकृत गर्न सकिन्छ भन्नेमा पनि निर्भर हुन्छ भन्ने उनको अभ्यासले देखायो।

यही समयमा उनको संस्था जनरल इलेक्ट्रिकजस्ता ठूला औद्योगिक कम्पनीको निर्माण र वित्तीय संरचनामा पनि जोडियो। रेलमार्ग र स्टिल हुँदै ऊर्जा तथा विद्युतीय उद्योगसम्म पुगेपछि मोर्गनको वित्तीय प्रभाव अमेरिकी औद्योगिक अर्थतन्त्रका प्रमुख क्षेत्रमा फैलियो।

साखलाई पुँजीभन्दा ठूलो सम्पत्ति बनाउने खेल

मोर्गनको व्यवसायिक यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष उनको साख थियो। उनीसँग कारोबार गर्न चाहने कम्पनीले केवल पैसा पाउने आशा गर्दैनथे। मोर्गनको नाम जोडिनु आफैंमा वित्तीय विश्वासको संकेत बन्न थालेको थियो।

त्यसबेला कम्पनीले ठूलो ऋण उठाउन वा शेयर तथा बन्ड जारी गर्न खोज्दा लगानीकर्ताको विश्वास अत्यन्त महत्वपूर्ण थियो। मोर्गनको संस्था कुनै कम्पनीको पुनर्संरचनामा सहभागी भयो भने त्यसले बजारमा कम्पनीप्रतिको विश्वास बढाउन सक्थ्यो।

यसरी मोर्गनले एउटा यस्तो व्यवसायिक मोडल विकास गरे जहाँ वित्तीय संस्थाको सबैभन्दा ठूलो सम्पत्ति उसको आफ्नै पूँजी मात्र हुँदैन, बजारमा बनेको विश्वास पनि हुन्छ।

उनको कार्यालयबाट जारी हुने वित्तीय संरचना र लगानी प्रस्तावमा लगानीकर्ताले कम्पनीको अवस्था मात्र हेर्दैनथे। मोर्गनको संस्थाले त्यसलाई कति विश्वास गरेको छ भन्ने पनि हेर्थे।

यही कारण उनी कम्पनी पुनर्संरचनामा सक्रिय हुँदा व्यवस्थापनमा समेत प्रभाव राख्थे। खराब व्यवस्थापनलाई निरन्तरता दिएर नयाँ पैसा खन्याउनु उनको शैली थिएन। कम्पनीमा पैसा जाने हो भने त्यसको व्यवस्थापन र वित्तीय अनुशासन पनि बदलिनुपर्छ भन्ने दृष्टिकोण उनको कारोबारमा देखिन्थ्यो।

मोर्गनको यही शैलीले उनलाई बैंकिङ र औद्योगिक व्यवस्थापनको बीचमा उभ्यायो। उनी कम्पनीका दैनिक व्यवस्थापक थिएनन्, तर कम्पनीको रणनीतिक दिशामा उनको प्रभाव रहन्थ्यो।

यही प्रभावले उनलाई शक्तिशाली बनायो र आलोचनाको केन्द्र पनि बनायो। ठूलो उद्योग र वित्तीय संस्थाबीचको सम्बन्ध जति बलियो हुँदै गयो, त्यति नै आर्थिक शक्ति केही सीमित समूहमा केन्द्रित भइरहेको बहस पनि बढ्यो।

तर व्यापारिक दृष्टिले मोर्गनको मोडलले एउटा कुरा स्पष्ट गरिसकेको थियो। उद्योग विस्तार गर्न पैसा मात्र पर्याप्त हुँदैन। सही समयमा सही कम्पनीमा पुँजी पुर्‍याउने क्षमता, लगानीकर्ताको विश्वास र संकटमा निर्णय लिन सक्ने संस्थागत क्षमता पनि आवश्यक हुन्छ।

संकट आउँदा बैंकभन्दा अगाडि उभिए

मोर्गनको सबैभन्दा चर्चित व्यवसायिक परीक्षा आर्थिक संकटका बेला भयो। अमेरिकी वित्तीय प्रणालीमा १९ औँ शताब्दीको अन्त्यदेखि नै पटकपटक संकट देखिएको थियो। सन् १८९३ को वित्तीय संकटमा पनि मोर्गनले अमेरिकी सरकारलाई सुनको आपूर्ति र वित्तीय स्थिरता कायम गर्न निजी क्षेत्रबाट सहयोग जुटाउन भूमिका खेलेका थिए।

तर सन् १९०७ को संकटले उनको प्रभावलाई असाधारण रूपमा देखायो।

त्यतिबेला अमेरिकासँग आजको जस्तो केन्द्रीय बैंक थिएन। वित्तीय प्रणालीमा संकट आएपछि बजारमा अन्तिम सहारा दिने औपचारिक संस्था थिएन। न्यूयोर्कका बैंक तथा ट्रस्ट कम्पनीमा निक्षेपकर्ताको विश्वास घट्दै गएपछि रकम निकाल्ने क्रम बढ्यो। सन् १९०७ को संकट अन्ततः अमेरिकी वित्तीय प्रणालीको ठूलो परीक्षण बन्यो।

अक्टोबर १९०७ मा युनाइटेड कपरको शेयर मूल्यलाई कृत्रिम रूपमा नियन्त्रण गर्ने प्रयास असफल भएपछि त्यससँग जोडिएका वित्तीय संस्थामा समस्या फैलियो। त्यसपछि नकरिबकर ट्रस्ट कम्पनीमा ठूलो रकम निकाल्ने क्रम सुरु भयो। कम्पनीले संकट सामना गर्न नसकेपछि अक्टोबर २२ मा कारोबार रोक्नुपर्‍यो।

त्यसपछि संकट तीव्र भयो। छोटो अवधिको ऋणको ब्याजदर अत्यधिक बढ्यो। शेयर बजारमा कारोबार चलाउन आवश्यक तरलता अभाव हुन थाल्यो। वित्तीय प्रणालीमा विश्वास घट्दै गयो।

यही अवस्थामा मोर्गन अगाडि आए।

उनले न्यूयोर्कका प्रमुख बैंकरहरूलाई आफ्नो निवासमा बोलाएर संकट व्यवस्थापनका लागि छलफल थाले। निजी पुँजी परिचालन गर्ने, कुन संस्थालाई सहयोग गर्ने र बजारमा तरलता कसरी पुर्‍याउने भन्ने निर्णयमा उनले नेतृत्व लिए। जेपी मोर्गन एन्ड कम्पनीले ठूलो मात्रामा वित्तीय स्रोत परिचालन गर्‍यो र मोर्गन आफैंले पनि संकट व्यवस्थापनमा सक्रिय भूमिका खेले।

केन्द्रीय बैंक नभएको अवस्थामा मोर्गनको भूमिका व्यवहारतः अन्तिम सहारा दिने वित्तीय शक्तिजस्तो बन्न पुग्यो। उनले न्यूयोर्क स्टक एक्सचेन्जमा ऋण उपलब्ध गराउन वित्तीय तथा औद्योगिक संस्थाबाट पैसा जुटाउने कामसमेत गरे।

यो घटना उनको व्यक्तिगत प्रभावको चरम उदाहरण थियो। कुनै सरकारी पदमा नभएका एक निजी बैंकरले राष्ट्रिय वित्तीय प्रणालीको संकट व्यवस्थापनमा निर्णायक भूमिका खेले।

तर संकटले अर्को महत्वपूर्ण कुरा पनि प्रमाणित गर्‍यो। एउटा व्यक्तिको प्रभावले तत्काल समस्या सम्हाल्न सके पनि सम्पूर्ण वित्तीय प्रणालीलाई स्थायी रूपमा सुरक्षित राख्ने संस्थागत संरचना आवश्यक रहेछ।

मोर्गनले बचाएको बजारले नयाँ प्रणाली जन्मायो

सन् १९०७ को संकट केही सातामा नियन्त्रणमा आए पनि त्यसको आर्थिक प्रभाव गम्भीर थियो। औद्योगिक उत्पादन सन् १९०८ मा १७ प्रतिशत घट्यो र वास्तविक राष्ट्रिय उत्पादन १२ प्रतिशत घटेको फेडरल रिजर्भ हिस्ट्रीले उल्लेख गरेको छ।

मोर्गनको हस्तक्षेपले संकटलाई तत्काल नियन्त्रण गर्न सहयोग गरे पनि अमेरिकी वित्तीय प्रणालीमा रहेको संरचनागत कमजोरी हटेन। बरु संकटले त्यही कमजोरीलाई सबैका अगाडि ल्याइदियो।

अमेरिका जस्तो औद्योगिक अर्थतन्त्रमा संकट आउँदा निजी बैंकरको व्यक्तिगत प्रभावमा भर पर्नुपर्ने अवस्था दीर्घकालीन समाधान हुन सक्दैन भन्ने धारणा बलियो भयो। सन् १९०८ मा एल्ड्रिच भिरल्यान्ड ऐन पारित भयो र राष्ट्रिय मौद्रिक आयोग गठन भयो। त्यसपछि अमेरिकी बैंकिङ प्रणालीको व्यापक अध्ययन भयो।

अन्ततः सन् १९१३ मा फेडरल रिजर्भ ऐन पारित भयो र फेडरल रिजर्भ प्रणाली स्थापना भयो।

यस अर्थमा मोर्गनको व्यवसायिक यात्राको सबैभन्दा रोचक पक्ष यही हो। उनले जुन वित्तीय संकटलाई निजी प्रभाव र पुँजी परिचालनबाट सम्हाल्न सहयोग गरे, त्यही संकटले पछि आधुनिक अमेरिकी केन्द्रीय बैंकिङ प्रणाली निर्माणको आधार तयार गर्‍यो।

मोर्गन आफैंले नयाँ प्रणाली निर्माण गरेका होइनन्। तर उनको समयको वित्तीय संकट र त्यसमा देखिएको निजी क्षेत्रको सीमाले नयाँ संस्थागत संरचनाको आवश्यकता स्पष्ट गर्‍यो।

बैंकिङभन्दा परको साम्राज्य

मोर्गनको व्यवसायिक शक्ति कुनै एउटै कम्पनीको मूल्यांकनबाट बुझ्न सकिँदैन। उनको प्रभाव रेलमार्ग, स्टिल, ऊर्जा, वित्तीय बजार र ठूला औद्योगिक कम्पनीको निर्माणसँग जोडिएको थियो।

उनको संस्था कम्पनीको वित्तीय संरचना निर्माण गर्ने, ऋण जुटाउने, शेयर तथा बन्ड कारोबार व्यवस्थापन गर्ने, पुनर्संरचना गर्ने र उद्योगहरूबीच एकीकरण गराउने काममा सक्रिय थियो। यसरी बैंकिङ आफैं एउटा उद्योग नभई अन्य उद्योग निर्माण गर्ने वित्तीय पूर्वाधारमा बदलियो।

यही मोडलले मोर्गनलाई आफ्नो समयका सबैभन्दा प्रभावशाली वित्तीय व्यक्तिमध्ये एक बनायो। उनीसँग सम्बन्धित संस्थाले अमेरिकी औद्योगिक विस्तारलाई पुँजी उपलब्ध गराउने काम गर्‍यो र संकटमा वित्तीय विश्वास पुनःस्थापित गर्ने भूमिका पनि निभायो।

उनको मृत्यु सन् १९१३ मा भयो। त्यसपछि उनको छोरा जेपी मोर्गन जुनियरले संस्थाको नेतृत्व सम्हाले। मोर्गनको नाममा बनेको वित्तीय संस्था भने उनको व्यक्तिगत जीवनभन्दा धेरै लामो समयसम्म विकसित हुँदै गयो। सन् १९४० मा जेपी मोर्गनले निजी साझेदारीबाट सार्वजनिक कम्पनीको संरचनातर्फ पुनर्संगठन गर्‍यो। त्यसपछि अमेरिकी वित्तीय क्षेत्रमा विभिन्न संस्थागत परिवर्तन हुँदै गए र सन् २००० मा जेपी मोर्गन र चेस म्यानहटनको एकीकरणबाट आजको जेपीमोर्गन चेजको आधार बनेको हो।

त्यसैले मोर्गनको कथा केवल एक बैंकरको कथा होइन। यो अमेरिकी औद्योगिक अर्थतन्त्रमा वित्तीय संस्थाले कसरी कम्पनी निर्माण, पुनर्संरचना र एकीकरणमा भूमिका खेल्न सक्छ भन्ने उदाहरण हो।

पैसाभन्दा ठूलो थियो प्रभाव

जेपी मोर्गनको व्यवसायिक यात्रा हेर्दा उनको सबैभन्दा ठूलो उपलब्धि कति पैसा कमाए भन्नेमा मात्र सीमित हुँदैन। उनले पुँजीलाई उद्योगमा कसरी रूपान्तरण गर्ने भन्ने एउटा प्रभावशाली मोडल बनाए।

रेलमार्गमा उनले संकटग्रस्त कम्पनीको पुनर्संरचना र एकीकरणको मोडल प्रयोग गरे। स्टिलमा उनले प्रतिस्पर्धी कम्पनीहरूलाई एउटै विशाल औद्योगिक संरचनामा ल्याउने काम गरे। ऊर्जा तथा अन्य उद्योगमा वित्तीय पुँजी परिचालन गरे। संकटका बेला उनले निजी बैंकिङ नेटवर्क र आफ्नो साख प्रयोग गरेर बजारमा तरलता र विश्वास फर्काउने प्रयास गरे।

उनको व्यवसायिक दर्शनको केन्द्रमा कम्पनीको तत्काल नाफाभन्दा दीर्घकालीन वित्तीय संरचना थियो। कम्पनीलाई पैसा चाहिएको छ भने पैसा दिने, तर त्यो पैसा कसरी फिर्ता हुन्छ, कम्पनी कसरी व्यवस्थित हुन्छ र लगानीकर्ताको विश्वास कसरी कायम रहन्छ भन्ने विषयलाई सँगसँगै हेर्ने उनको शैली थियो।

यही कारण मोर्गनको नाम अमेरिकी औद्योगिक इतिहासमा केवल बैंकिङसँग जोडिएन। उनको प्रभाव कम्पनीहरूको संरचना, उद्योगको एकीकरण र वित्तीय बजारको सञ्चालनसम्म पुग्यो।

युनाइटेड स्टेट्स स्टिलको निर्माण त्यसको सबैभन्दा स्पष्ट उदाहरण हो। सन् १९०१ मा बनेको उक्त कम्पनीले अमेरिकी औद्योगिक विस्तारमा दीर्घकालीन प्रभाव पार्‍यो र स्टिल उत्पादनलाई विशाल संस्थागत संरचनामा जोड्यो।

अन्ततः मोर्गनले बनाएको वास्तविक साम्राज्य बैंकका भवन वा व्यक्तिगत सम्पत्तिको साम्राज्यभन्दा फरक थियो। त्यो पुँजी, साख, कम्पनी र उद्योगबीच बनेको नेटवर्क थियो।

उनको समयको अमेरिकामा उद्योगपति कारखाना बनाइरहेका थिए। उद्यमी नयाँ बजार खोजिरहेका थिए। लगानीकर्ता नाफाको अवसर खोजिरहेका थिए। मोर्गन भने यी सबैलाई एउटै वित्तीय संरचनामा जोड्ने काम गरिरहेका थिए।

त्यसैले उनको व्यवसायिक यात्राको सार एउटा बैंकरले धेरै पैसा कमाएको कथा होइन। संकटग्रस्त कम्पनीलाई पुनर्संरचना गर्ने, छरिएको पुँजीलाई एकीकृत गर्ने, उद्योगलाई ठूलो संस्थागत संरचनामा बदल्ने र संकटका बेला साखलाई वित्तीय शक्तिमा रूपान्तरण गर्ने कला नै जेपी मोर्गनको वास्तविक व्यवसायिक विरासत थियो।

उनले निर्माण गरेको यो मोडलले एउटा युगमा अमेरिकी औद्योगिक अर्थतन्त्रलाई आकार दियो। त्यसको प्रभावपछि बनेका कम्पनी, बैंकिङ संस्था र वित्तीय प्रणालीमा पनि देखियो। यही कारण जेपी मोर्गनको कथा एउटा व्यक्तिको जीवनीभन्दा धेरै ठूलो छ। यो पुँजी कसरी शक्ति बन्छ, साख कसरी सम्पत्ति बन्छ र संकट कसरी पुनर्संरचनाको अवसरमा बदलिन्छ भन्ने आधुनिक वित्तीय व्यवसायको एउटा ऐतिहासिक कथा हो।

2

Betsixty

Roll the dice — this page

Einen Blick wert — crypto casino für spannende Casino-Action