काठमाडौं: विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौ महिनामा लक्ष्यको ९७.२६ प्रतिशत राजस्व संकलन गरेको छ। कार्यालयको तथ्यांक अनुसार भदौ महिनाका लागि तोकिएको तीन अर्ब ५३ करोड १८ लाख रुपैयाँको लक्ष्यमध्ये तीन अर्ब ४३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको हो।
गत वर्षको सोही महिनाको तुलनामा यस वर्ष राजस्व संकलनको लक्ष्य बढाइएको थियो। गत वर्ष भदौ महिनाका लागि तीन अर्ब ४९ करोड रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो।
यसअघि साउन महिनामा भने कार्यालयले लक्ष्यको ८८.४७ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको थियो। साउनमा तीन अर्ब नौ करोड तीन लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा दुई अर्ब ७३ करोड ३९ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।
