काठमाडौं। हिमालय एअरलाइन्स्ले काठमाडौँ र सांघाईबीचको सिधा उडान सेवा पुनः सुरु गरेको छ। एअरलाइन्स्ले सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच नियमित उडान सञ्चालनमा ल्याएको हो।
प्रारम्भिक चरणमा यो रुटमा सातामा दुई पटक उडान हुनेछ। एअरलाइन्स्का अनुसार काठमाडौँबाट हरेक सोमबार र शुक्रबार तथा सांघाईबाट मंगलबार र शनिबार उडान हुनेछ। यात्रुको माग र चापको आधारमा भविष्यमा उडान संख्या थप गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
हिमालय एअरलाइन्स्ले काठमाडौँ-सांघाई रुटमा नियमित सिधा उडान गर्ने एकमात्र नेपाली वायुसेवा कम्पनी भएको दाबी गरेको छ।
एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले यो उडानले नेपाल र चीनबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा मद्दत पुग्ने बताए।
उनले यस रुटले चीनबाट नेपाल आउने पर्यटकको संख्या वृद्धि गर्न र पर्यटन तथा व्यापार क्षेत्रलाई टेवा पुर्याउने अपेक्षा गरिएको उल्लेख गरे।
यात्रुहरूले एअरलाइन्स्को टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, वेबसाइट वा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन्।
