काठमाडौं: एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माणाधीन मुग्लिन-पोखरा सडक आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। पश्चिम खण्डमा देखिएका मुख्य अवरोधहरू हटेसँगै आयोजनाले गति लिएको हो।
यसअघि पश्चिम खण्डको निर्माणमा विद्युत् पोल स्थानान्तरण, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्ति र दमौली डिभिजन कार्यालयको भवन स्थानान्तरण मुख्य चुनौतीका रूपमा थिए। पूर्वाधार विकास मन्त्रालयको सहजीकरणमा यी समस्या समाधान भएसँगै निर्माण कार्यले तीव्रता पाएको छ। मन्त्रालयका अनुसार विद्युत् पोल हटाउने काम सकिएको छ भने जग्गा विवाद पनि टुंगिएको छ। साथै, दमौली डिभिजनको नयाँ भवनका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ।
आयोजनाको पूर्वी खण्ड आबुखैरेनीदेखि जामुनेसम्मको काम यसअघि नै सम्पन्न भइसकेको छ। जामुनेदेखि पोखरासम्मको ३८.४१ किलोमिटर लामो पश्चिम खण्डको निर्माण आगामी नोभेम्बर (मंसिर) भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस खण्डमा चार लेन सडक र मुख्य पुलहरूको निर्माण पूरा भइसकेको छ। कुल ३८ किलोमिटर सर्भिस लेनमध्ये ३२ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ किलोमिटर सर्भिस लेन र फुटपाथको काम तोकिएको समयभित्रै सकिनेछ।
आयोजनाअन्तर्गत ३१० मिटर लामो मादी आर्क ब्रिजको मुख्य संरचना तयार भइसकेको छ र हाल फिनिसिङको काम भइरहेको छ। १९० मिटर लामो सेती पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ, जसलाई आगामी अप्रिलसम्म सम्पन्न गर्ने तालिका छ। सडक सुरक्षाका लागि पहिरो नियन्त्रणको काम अघि बढाइएको छ भने मुग्लिन-आबुखैरेनी खण्डको ८ किलोमिटरमध्ये ४ किलोमिटर मर्स्याङ्दी नदीपारिबाट निर्माण गर्न ठेक्का प्रक्रिया सुरु गरिएको छ।
