दाङ। दाङको घोराही उपमहानगरपालिका: १२, रतनपुरमा असोज ८ र ९ गते आएको वर्षासहितको हावाहुरीले ठुलो मात्रामा केरा खेती नष्ट गरेको छ।
स्थानीय किसान हुमबहादुर केसीका अनुसार चार बिघा जग्गामा लगाइएका करिब दुई हजार हरिसाल जातका केराका बोट ढलेका छन्। यसबाट करिब १४ लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ।
किसान केसीले माध्यमिक विद्यालय हापुर रतनपुरको नौ बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेती गर्दै आउनुभएको छ। ढलेका दुई हजार बोटमध्ये एक हजार चार सयभन्दा बढीमा फल लागिसकेको थियो। केसीले भने, “ढलेका धेरै बोटमा फल लागेर बिक्रीका लागि तयार हुँदै थिए, कतिपयमा भर्खर फल लाग्दै थियो। हावाहुरीले बोट सखाप नै पार्यो।”
केसीले चार बिघा जग्गामा केरा खेतीसँगै कुखुरापालन र अन्य कृषि पेसा पनि सञ्चालन गर्दै आउनुभएको छ। उहाँका अनुसार ठुला र फल लागेका बोटहरू बढी नष्ट भएका छन्।
गत वर्ष पनि हावाहुरीबाट क्षति बेहोर्नुभएका केसीले यस वर्षको नोक्सानबाट पुरानै अवस्थामा फर्कन करिब दुई वर्ष लाग्ने बताए।
घोराही उपमहानगरपालिका-१२ का वडाध्यक्ष दोर्णबहादुर केसीले व्यावसायिक किसानले ठुलो क्षति व्यहोर्नुपरेको पुष्टि गरेका छन्।
