काठमाडौं। असोज १० गते कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले म्याग्दीमा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना र विद्युत् प्रसारण लाइनमा ठूलो क्षति पुर्याएको छ।
बाढीले आयोजनाको टेलरेस गेट भत्काउनुका साथै विद्युत्गृहभित्र पानी र हिलो पस्दा दुई वटा उपकरणमा क्षति पुगेको छ। आयोजनाको स्विचयार्ड पनि उच्च जोखिममा परेको छ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार, परीक्षण उत्पादन सुरु गरेको दुई दिनमै बाढीले क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको छ।
अघिल्लो हप्ता मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको उक्त आयोजनाले १५ दिनको परीक्षणपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरेको थियो। केसीले अब व्यावसायिक उत्पादन सुरु गर्न कम्तीमा एक महिना लाग्ने जानकारी दिनुभयो।
यसैगरी, बाढीले कालीगण्डकी कोरिडोरको २२० केभी क्षमताको दाना-कुस्मा प्रसारण लाइनका तीन वटा टावर बगाएको छ।
नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार अन्नपूर्ण गाउँपालिका-१ को दोवा र धिरच्याङ क्षेत्रमा टावर बगेका हुन्। यसले गर्दा राहुघाटको स्विचयार्डदेखि दानासम्मको प्रसारण लाइन बन्द भएको छ।
प्रसारण लाइनमा क्षति पुग्दा नारच्याङमा रहेका घलेम्दीखोला, मिस्त्रीखोला, नीलगिरि-१, नीलगिरि-२ र रेलेखोला जलविद्युत् आयोजनाबाट हुँदै आएको विद्युत् आपूर्ति बन्द भएको छ। प्राधिकरणको पोखरा ग्रिड महाशाखाले क्षतिग्रस्त संरचनाको स्थलगत निरीक्षण सुरु गरेको छ।
महाशाखा प्रमुख खड्काले प्राविधिक टोली परिचालन गरी क्षतिको विवरण सङ्कलन गर्ने र वैकल्पिक उपायको खोजी तथा पुनर्निर्माणको कामलाई तीव्रता दिइने बताए।
