काठमाडौं। बलिउड फिल्म दृश्यम ३ (दृश्यम: द कन्क्लुजन) अक्टोबर २ मा रिलिज हुँदैछ। फिल्मको अग्रिम बुकिङ र दर्शकको उत्साहलाई हेर्दा यसले पहिलो दिनमै ५० करोड भारु भन्दा बढीको कमाइ गर्ने अनुमान गरिएको छ।
दृश्यम फ्रेन्चाइजका अघिल्ला फिल्महरूले दर्शकमाझ राम्रो छाप छोडेका छन्। यसपटक विजय सालगाउँकरको भूमिकामा अजय देवगण र प्रतिपक्षीको भूमिकामा जयदीप अहलावत देखिएका छन्। फिल्मको ट्रेलरले दर्शकमा थप उत्सुकता जगाएको छ। यसअघिका दृश्यमका सिरिजहरू रिमेक भए पनि यसपटकको अन्तिम भागका लागि फरक कथावस्तु छनोट गरिएको छ, जसले गर्दा दर्शकमा फिल्मप्रति थप चासो बढेको छ।
गाँधी जयन्तीको सार्वजनिक बिदाका कारण पनि फिल्मले बक्स अफिसमा फाइदा उठाउने देखिएको छ। टिकटको दर बढी हुनु र बिदाको दिन रिलिज हुनुले फिल्मको कलेक्सनमा थप मद्दत पुग्ने अनुमान गरिएको छ। हालसम्मको अग्रिम बुकिङ २० करोड भारु नाघिसकेको छ।
बक्स अफिस रिपोर्टका अनुसार दृश्यम ३ ले भारतमा पहिलो दिन ५७ देखि ६२ करोड भारुसम्मको कमाइ गर्न सक्ने आँकलन गरिएको छ। यदि यस्तो नतिजा आएमा यो अजय देवगणको करिअरकै सबैभन्दा ठूलो ओपनिङ हुनेछ। साथै, यो बलिउडको इतिहासमा छैटौं ठूलो ओपनिङ बन्न सक्नेछ। यसअघि शाहरुख खानको फिल्म पठानले पहिलो दिन ५७ करोड भारु कमाएको थियो।
