गुल्मी। गुल्मीको रेसुंगा विमानस्थलमा विगत चार महिनादेखि हवाई उडान हुन सकेको छैन ।
मौसममा आएको खराबीका कारण नियमित उडान प्रभावित बनेको हो ।
नेपाल एयरलाइन्स रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि बिहानको समयमा लगातार मौसम प्रतिकूल हुँदा उडान सेवा रोकिएको छ । वर्षायाममा हरेक वर्ष करिब तीन महिनासम्म विमानस्थलको उडान प्रभावित हुने गरेको छ ।
यात्रुको चापलाई ध्यानमा राख्दै नेपाल एयरलाइन्सले रेसुंगा-काठमाडौं रुटमा साताको तीन दिन शनिबार, आइतबार र बिहीबार उडान तालिका राखेको छ । तालिकाअनुसार काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुंगाबाट बिहान ७ः४५ बजे उडान हुने गर्दछ ।
हाल गुल्मीबाट काठमाडौं जाने यात्रुका लागि हवाई भाडा प्रतिव्यक्ति १० हजार ५१० रुपियाँ र काठमाडौंबाट गुल्मी आउने यात्रुका लागि १० हजार ७१० रुपियाँ तोकिएको छ । मौसम अनुकूल भएपछि नियमित उडान पुनः सञ्चालन हुने स्टेशन प्रमुख थापाले जानकारी दिनुभयो ।
