वासिंटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेलको बढ्दो मूल्य नियन्त्रण गर्ने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
नेब्रास्कामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले डिजेलको उच्च मूल्यबाट प्रभावित नागरिकहरूलाई राहत प्रदान गर्न यो कदम चालिएको बताएका हुन्।
ह्वाइट हाउसद्वारा जारी तथ्यपत्रका अनुसार यो आदेशले सामान्यतया अफ-रोड प्रयोगका लागि मात्र उपलब्ध हुने सस्तो र करमुक्त रातो रङको डिजेललाई राजमार्गमा समेत प्रयोग गर्न अस्थायी अनुमति दिएको छ।
साथै, यस वर्षको बाँकी अवधिका लागि सङ्घीय आन्तरिक राजस्व कर पनि स्थगित गरिएको छ। ट्रम्पले यस कदमबाट खाद्यान्नलगायतका उपभोग्य वस्तुहरूको मूल्य घट्ने दाबी गरेका छन्।
एएए को तथ्यांकअनुसार इरान युद्ध अघि प्रति ग्यालन ३.७६ डलर रहेको डिजेलको मूल्य सेप्टेम्बर २२ मा ६.५३ डलरको कीर्तिमानी विन्दुमा पुगेको थियो। सोमबार अमेरिकामा डिजेलको राष्ट्रिय औसत मूल्य ६.३२ डलर प्रति ग्यालन कायम भएको थियो।
सामान्यतया सङ्घीय सरकारले प्रति ग्यालन २४.४ सेन्ट र राज्यस्तरमा औसत ३५.५ सेन्ट कर लिने गरेका छन्। यो कर छुटबाट २५० ग्यालन डिजेल भर्ने एक ट्रक चालकले प्रति ट्यांक करिब १५० डलरसम्म बचत गर्न सक्नेछन्।
यसअघि नै टेक्सास, ओक्लाहोमा र अलावामासहित १० वटा राज्यले राजमार्गमा डाइड् डिजेल प्रयोग गर्न पाइने व्यवस्था गरिसकेका छन्।
