काठमाडौं। युरोपेली युनियन (इयु) ले चीनसँगको बढ्दो व्यापार तनाव कम गर्न र व्यापार तथा लगानीमा सन्तुलन कायम गर्न ठोस परिणामको खोजी गरिरहेको छ। इयुका वाणिज्य अधिकारी मारोस सेफकोभिकले शुक्रबार हुने वार्ताबाट ठोस उपलब्धि हासिल गर्नु महत्वपूर्ण रहेको बताएको छ।
बिहीबार बेइजिङमा चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्टाओसँग भेट गरेपछि सेफकोभिकले तीन महिनादेखिको गहन संवादमार्फत इयु-चीन व्यापार सम्बन्धलाई सन्तुलित बनाउने प्रयास भइरहेको जानकारी दिए। हाल चीनसँग इयुको दैनिक व्यापार घाटा करिब एक अर्ब युरो पुगेको छ। इयुले चीनबाट आयात हुने सस्तो वस्तुका कारण युरोपेली उद्योगहरू दबाबमा परेको र हजारौँ रोजगारी गुमेको दाबी गर्दै आएको छ। इयुले चीनमाथि सरकारी अनुदान, मूल्य घटाएर वस्तु बिक्री गर्ने तथा मुद्रा हेरफेरमा सहयोग गरेको आरोप लगाएको छ।
यद्यपि, व्यापार सम्बन्ध बिगार्नु इयुका लागि सहज छैन किनकि चीनले दुर्लभ पृथ्वीका खनिज जस्ता महत्वपूर्ण वस्तुको आपूर्तिमा रोक लगाउन वा युरोपेली निर्यातमा अवरोध सिर्जना गर्न सक्छ। अर्कोतर्फ, कमजोर घरेलु अर्थतन्त्रलाई सहारा दिन निर्यातमा निर्भर रहेको चीनलाई पनि व्यापार तनावले असर पार्ने देखिएको छ। युरोपेली संसद्को व्यापार समितिका प्रमुख बन्र्ड ल्याङले चीनको वर्तमान आर्थिक सङ्कटले वार्तामा इयुको मोलतोल गर्ने क्षमता बढाएको बताएको छ।
