काठमाडौं: मसला र स्न्याक्स उत्पादनमा परिचित सेन्चुरी ब्रान्डले तयारी चाउचाउ बजारमा प्रवेश गरेको छ। सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्ताको स्वाद र बदलिँदो जीवनशैलीलाई लक्षित गरी नयाँ चाउचाउ सार्वजनिक गरेको हो।
लामो समयदेखि मसला र स्न्याक्सको उत्पादनमा सक्रिय कम्पनीले आफ्नो बजार विस्तार गर्ने योजनाअनुसार चाउचाउ क्षेत्रमा पाइला चालेको जनाएको छ। व्यस्त जीवनशैलीमा छिटो र सहज रूपमा तयार गर्न सकिने खाद्य पदार्थको माग बढिरहेको अवस्थामा गुणस्तरीय र फरक स्वादको विकल्प उपलब्ध गराउने उद्देश्यले नयाँ उत्पादन ल्याइएको कम्पनीको भनाइ छ।
नयाँ उत्पादनबारे उपभोक्तालाई जानकारी दिन काठमाडौं उपत्यकाका भाटभटेनी सुपरमार्केटका बौद्ध, नक्साल, महाराजगञ्ज र ललितपुर स्टोरमा विशेष स्टल सञ्चालन गरिएको छ। ती स्टलबाट उपभोक्ताले चाउचाउको स्वाद लिनुका साथै उत्पादनबारे जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ।
स्वदेशी तथा विदेशी ब्रान्डबीच प्रतिस्पर्धा बढिरहेको नेपाली खाद्य बजारमा स्वाद, गुणस्तर र सहज उपलब्धतालाई प्राथमिकतामा राखेर आफ्नो स्थान बलियो बनाउने रणनीतिमा कम्पनी देखिएको छ। यस नयाँ उत्पादनमार्फत सेन्चुरीले आफ्नो ब्रान्डको पहुँच र बजार उपस्थिति थप विस्तार गर्ने लक्ष्य राखेको छ।
