काठमाडौँ: काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि गर्ने काम भइरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्रसारण लाइनमा रहेको पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएको हो। नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले सञ्चालन गरेको यस कार्यका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले पुरानो कन्डक्टरको साटो उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गर्न लागेको हो। यसले प्रसारण लाइनको विद्युत् बहन क्षमता बढाउन र बढ्दो मागलाई व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस अवधिमा मातातीर्थ र स्युचाटारलगायतका सवस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्ने जनाइएको छ। तोकिएको समयमै काम सम्पन्न गर्ने गरी प्राविधिक तयारी गरिएको भए पनि मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ।
