धनगढी: कैलालीका किसानहरू यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन व्यस्त छन्। केही दिनअघिको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्याएपछि किसानहरू चिन्तित बनेका थिए। मौसममा सुधार आएसँगै घाम लागेपछि किसानहरू बाली थन्क्याउने काममा जुटेका हुन्।
धनगढी उपमहानगरपालिका-३ बडहराका किसान भगतराम चौधरीले वर्षभरिको खाद्यान्न जोहो गर्न आफू बिहान सबेरैदेखि रात नपरुन्जेलसम्म खेतमै व्यस्त रहने गरेको बताए। उनले भने, “हिजो आज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ। झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छौ।”
बडादसैँ नजिकिएसँगै पर्व मनाउने तयारी र धानबाली भित्र्याउने चटारोले किसानको व्यस्तता थप बढेको छ। अर्का किसान सुकराम चौधरीका अनुसार धान थ्रेसन गर्नका लागि समेत पालो कुर्नुपर्ने अवस्था छ। पहिले हातैले धान काट्ने र चुट्ने परम्परागत विधि अपनाउने किसानहरू अहिले आधुनिक उपकरणतर्फ आकर्षित भएका छन्।
यस वर्ष कैलालीका खेतहरूमा सर्जु, मन्सुली, भालेमन्सुली र राधा-४ लगायतका उन्नत जातका धानबाली लगाइएको छ। थोरै जग्गा हुने किसानहरूले थ्रेसरको प्रयोग गरी धान घर भित्र्याइसकेका छन् भने ठूला किसानहरू पनि परिवारका सबै सदस्यसहित बाली उठाउन खटिएका छन्।
