काठमाडौं: बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ। थोरङ्ला पास जाने पदमार्ग सहज भएसँगै अहिले दैनिक १५० देखि २०० को हाराहारीमा पर्यटकहरू पुग्ने गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार असोज १८ देखि २५ गतेसम्मको अवधिमा १ हजार ४४७ जना पर्यटकले पदयात्रा गरेका छन्।
सो अवधिमा पदयात्रा गर्नेमा ८८७ पुरुष र ५६० महिला रहेका छन्। यसअघि असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा पर्यटकको आगमनमा कमी आएको थियो।
हाल हिउँ पन्छाएर थोरङ्ला पास जाने बाटो सुचारु गरिएपछि पर्यटकको चहलपहल बढेको हो। पदमार्गमा पर्यटकको आगमन बढेसँगै प्रभावित बनेका स्थानीय होटल तथा पर्यटन व्यवसायमा पनि सुधारका संकेत देखिएका छन्। सडक र पदमार्ग पूर्ण रूपमा सहज हुँदै गएमा आगामी दिनमा पर्यटकको संख्या थप बढ्ने व्यवसायीहरूले अपेक्षा गरेका छन्।
