काठमाडौं: बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँमा धान प्रशोधन गरी गुणस्तरीय सिल्की चामल उत्पादन गर्न पाउने भएका छन्। स्थानीय साकार कृषि सहकारी संस्था लिमिटेडले अत्याधुनिक सिल्की चामल मिल जडान गरी सञ्चालनमा ल्याएपछि किसानहरू उत्साहित बनेका छन्।
सहकारीका अध्यक्ष हुमाशङ्कर वलीका अनुसार यसअघि राप्ती सोनारीमा यस्तो प्रविधिको आधुनिक सेलर मिल थिएन। मिल सञ्चालनमा आएपछि धान प्रशोधनका लागि छिमेकी बजार वा भारत जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ। संस्थाले भविष्यमा खाद्यान्न पिस्ने र तेल पेल्ने आधुनिक मेसिनहरू पनि थप्ने योजना बनाएको छ।
कुल ५५ लाख रुपैयाँको लागतमा जडान गरिएको उक्त मिलका लागि राप्ती सोनारी गाउँपालिकाले २० लाख रुपैयाँ अनुदान दिएको छ भने बाँकी ३५ लाख रुपैयाँ सहकारीले लगानी गरेको छ। संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले मिल सञ्चालनमा आएसँगै किसानले आफ्नो उत्पादन सहजै बिक्री गर्न र कुटानी-पिसानीको सुविधा गाउँमै पाउन सक्ने बताए।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले स्थानीय तह र सहकारीको सहकार्यमा बनेको यो पूर्वाधारले किसानको आर्थिक स्तर उकास्न सहयोग पुग्ने बताए। उनले यसलाई कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। स्थानीय तहमै प्रशोधन र बजारीकरणको सुविधा भएपछि व्यावसायिक कृषिमा आकर्षण बढ्ने विश्वास लिइएको छ।
