मनाङ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका पदमार्गहरूमा पर्यटकको आगमन उत्साहजनक देखिएको छ।
एक्यापको पछिल्लो तथ्यांकअनुसार असोज २५ गते आइतबार मात्र एक हजार ८३६ जना पदयात्री विभिन्न प्रवेश नाकाहरूबाट यस क्षेत्रमा भित्रिएका छन्। अनुकूल मौसम र पदमार्गको सुरक्षाका कारण पर्यटकको संख्यामा वृद्धि भएको हो। सोही दिन ८१५ जना पदयात्रीले सफलतापूर्वक आफ्नो पदयात्रा पूरा गरी चेक-आउट गरेका छन्।
विभिन्न नाकाहरूमध्ये बिरेठाँटीबाट सर्वाधिक ५४४ जना भित्रिएका छन् भने ३३१ जना बाहिरिएका छन्। त्यस्तै धारापानीबाट २६० जना भित्रिँदा ८६ जना बाहिरिएका छन्। छोमरोङ नाकाबाट २४६ जना प्रवेश गरेका छन् भने २७० जना बाहिरिएका छन्। सिम्पानी र बगैँचा नाकाबाट १४९ जना भित्रिँदा ४ जना बाहिरिएका छन्। पोथानाबाट १४७ जना भित्रिएका छन् भने ४५ जना बाहिरिएका छन्।
जोमसोम नाकाबाट १४६ जना भित्रिँदा २१ जना बाहिरिएका छन्। घासा नाकाबाट १४३ जना भित्रिएका छन् भने ४ जना बाहिरिएका छन्। मनाङ नाकाबाट ११८ जना भित्रिँदा ९ जना बाहिरिएका छन्। यसबाहेक कागबेनीबाट १७, सिकलेसबाट ८, शिखाबाट ६ र मुक्तिनाथ नाकाबाट २ जना पर्यटक भित्रिएका छन्। एकै दिनमा ठूलो संख्यामा पर्यटकको आगमन र सुरक्षित बहिर्गमनले अन्नपूर्ण चक्रीय पदमार्ग पर्यटकका लागि सुरक्षित र व्यवस्थित रहेको पुष्टि गरेको छ।
