काठमाडौं: दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। ग्यास पाउन मुस्किल भएपछि उपभोक्ताहरू लामो समयदेखि लाइनमा बस्न बाध्य भएका छन्। काठमाडौँको सिफलमा उपभोक्ताहरूले केही दिनदेखि ग्यासका लागि लाइन लागिरहेका छन्।
उपभोक्ताहरूले समयमा ग्यास नपाएको र केही ग्यास पसलहरू बन्द रहेको गुनासो गरेका छन्। कतिपयले महिना दिनदेखि खाली सिलिन्डर लिएर ग्यासको प्रतीक्षा गरिरहेका छन्। सिफल क्षेत्रमा त झन् खाली सिलिन्डर राखेबापत उपभोक्तासँग एक रातको ५० रुपैयाँ शुल्क असुलिने गरेको पाइएको छ।
दसैँको समयमा हुन सक्ने ग्यासको अभावलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाका ६ स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाइएको छ। यद्यपि, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने भनिए पनि केही उद्योगहरूले आफ्नै ब्रान्डका सिलिन्डर मात्र साट्ने गरेको उपभोक्ताहरूको आरोप छ।
