काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धन संकट समाधान गर्न रुसबाट तेल खरिद गर्ने तयारी गरेपछि युक्रेनसँगको सम्बन्धमा चिसोपन आएको छ। नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकामा डिजेलको मूल्य बढेर प्रतिग्यालेन ६.२८ डलर पुगेको छ। इरान युद्धका कारण आपूर्तिमा अवरोध र मूल्यवृद्धि भएपछि ट्रम्प प्रशासन रुससँग तेल खरिद गर्न सहमत भएको हो।
ट्रम्पले रुसी तेल खरिदमा लगाइएको प्रतिबन्ध ७ अप्रिल २०२७ सम्मका लागि हटाएका छन्। सम्झौताअनुसार रुसले सुरुमा ३ लाख टन डिजेल अमेरिका पठाउनेछ, जुन पछि बढेर ५ लाख र १० लाख टन हुँदै कुल ३० लाख टनसम्म पुग्नेछ। यसअघि गत सेप्टेम्बरमा मात्र ट्रम्पले रुसबाट तेल किन्ने देशमाथि १०० प्रतिशत भन्सार लगाउने कानुनमा हस्ताक्षर गरेका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको यो निर्णयको कडा विरोध गरेका छन्। जेलेन्स्कीले रुसबाट तेल खरिद गर्दा प्राप्त हुने रकमले पुटिनलाई युद्ध जारी राख्न सहयोग पुग्ने बताउँदै आएका छन्। दुई नेताबीच केही समयअघि मियामीमा भएको ६ घन्टा लामो वार्तामा कुनै निष्कर्ष निस्कन सकेको थिएन।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्तिको पक्षमा रहेको दाबी गर्दै युद्ध अन्त्यका लागि सम्झौता गर्न चाहेको बताएका छन्। यद्यपि, युक्रेनले भने रुसले कब्जा गरेका भूभाग फिर्ता हुनुपर्ने र युद्धविराम हुनुपर्ने अडान राख्दै आएको छ। यसअघि अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लड्न सैन्य र प्राविधिक सहयोग दिँदै आएको थियो। ट्रम्पको पछिल्लो कदमले युक्रेन युद्धको दिशामा नयाँ हलचल पैदा गरेको छ।
