काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गतेसम्म तोकेको छ।
विभागले उपभोक्ताहरूलाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र उक्त बिलको विवरण विभागको वेबसाइटमा गएर प्रविष्ट गर्न आग्रह गरेको छ।
विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मका खरिद बिलका आधारमा प्राप्त उपहार कुपनहरूको विजेता घोषणा कात्तिक १ गते गरिनेछ। नगद भुक्तानी गरी सामान वा सेवा खरिद गर्ने उपभोक्ताले तोकिएको समयभित्र अनलाइनमार्फत विवरण दर्ता गरेर कुपन प्राप्त गर्न सक्नेछन्।
पुरस्कार दाबी गर्नका लागि सक्कल खरिद बिल अनिवार्य रहेकाले उपभोक्तालाई सचेत रहन विभागले सूचित गरेको छ। साथै, विभागले सबै व्यवसायीहरूलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिल वा बीजक जारी गर्न निर्देशन दिएको छ।
