काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार छैठौं दिन पनि वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.०१ अंक, फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले बढेको छ।
नेप्से परिसूचकमै आएको सुधारसँगै आज कारोबार रकममा पनि वृद्धि देखिएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकम ५८ करोड रुपैयाँले बढेको छ। यस दिन ३४९ स्टकको ३८ हजार ८६१ पटकको कारोबारमा ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ४ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यसैगरी अपि पावर कम्पनीको करिब २३ करोड र घलेम्दी हाइड्रोको साढे १८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
शेयर मूल्य वृद्धिको अवस्था हेर्दा आज बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य र लक्ष्मी उन्नती कोषको इकाईमूल्य करिब साढे ६ प्रतिशतले बढेको छ। आज १३ उपसमूहमध्ये नौ उपसमूहको परिसूचक बढेको छ भने बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचकमा सामान्य गिरावट आएको छ।

