काठमाडौं: चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि भएको छ।
निर्यातमा उच्च सुधार देखिए पनि आयातको परिमाण निकै ठूलो हुँदा मुलुकको व्यापार घाटा २६ प्रतिशतले बढेर रु. ३ खर्ब २४ अर्ब ९३ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ८.६ प्रतिशतले मात्र बढेको थियो।
समीक्षा अवधिमा कुल वस्तु निर्यात ६१.९ प्रतिशतले वृद्धि भई रु. ७६ अर्ब ५९ करोड पुगेको छ। गन्तव्यका आधारमा भारततर्फ ७०.६ प्रतिशत, चीनतर्फ १३७.६ प्रतिशत र अन्य मुलुकतर्फ २२.७ प्रतिशतले निर्यात बढेको छ। वस्तुगत रूपमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल, जिंक सिट र पार्टिकल बोर्डको निर्यात बढेको छ भने आयुर्वेदिक औषधि, प्रशोधित छाला, दाल, नेपाली कागज र जडीबुटीको निर्यातमा गिरावट आएको छ।
यस अवधिमा वस्तु आयात ३१.६ प्रतिशतले बढेर रु. ४ खर्ब १ अर्ब ५२ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा आयात १६.२ प्रतिशतले मात्र बढेको थियो। मुलुकगत आधारमा भारतबाट २७.४ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ५६.६ प्रतिशतले आयात वृद्धि भएको छ। पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल र सवारी साधनको आयात बढेको छ भने सुन, धान-चामल, हवाइजहाजका पार्टपुर्जा र मेडिकल सामानको आयात घटेको छ।

