काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको चालू खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ३० अर्ब ९७ करोडले बचतमा थियो।
अमेरिकी डलरमा हिसाब गर्दा चालू खाता १ अर्ब ११ करोड डलरले बचतमा रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो बचत ९३ करोड ६७ लाख डलर थियो। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ, जुन गत वर्षको सोही अवधिमा २ अर्ब २० करोड रुपैयाँ थियो।
यसैगरी, प्रत्यक्ष वैदेशिक लगानीमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब २७ करोड रुपैयाँ मात्र थियो।
मुलुकको शोधनान्तर स्थिति पनि उत्साहजनक देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोडले बचतमा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको छ, जुन गत वर्ष १ अर्ब १० करोड डलरले बचतमा थियो।

