मुक्तिनाथ: बाढीपहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ निकासी प्रभावित भएको छ। यस वर्ष जिल्लाबाट कुल १ अर्ब १४ करोड रुपियाँ बराबरको ८ हजार मेट्रिक टन स्याउ बिक्री हुने अनुमान गरिएकोमा बिहीबारसम्म ३५ करोड रुपियाँ बराबरको २ हजार ८ सय मेट्रिक टन स्याउ मात्र बजार पुगेको कृषि तथा पशु विकास कार्यालयले जनाएको छ।
सडक अवरुद्ध हुँदा बजारमा उच्च माग रहेको मुस्ताङको स्याउ लामो समय बगैँचामै थन्किएको थियो। गत बिहीबारदेखि सडक एकतर्फी खुलेपछि थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका किसानले स्याउ टिप्न सुरु गरेका छन्। कार्यालय प्रमुख डा. लालमणी अर्यालका अनुसार दसैँअघिसम्म ५० प्रतिशत स्याउ बजारमा पुग्ने अनुमान गरिएको छ। उहाँले भन्नुभयो, “दसैँअघिसम्म ५० प्रतिशत स्याउ बजारमा पुग्ने अनुमान छ, बगैंचाबाटै सिधै बजारमा पुगेको छ।”
मुस्ताङको चिसो हावापानीका कारण कात्तिक महिनासम्म पनि स्याउको गुणस्तरमा कुनै असर नपर्ने भएकाले किसानलाई बजार पठाउन समस्या नभएको डा. अर्यालले बताउनुभयो। हाल व्यापारीहरूले उच्च घनत्वको गाला र किङरोड जातको स्याउ बगैँचामै प्रतिकेजी २ सय १० रुपियाँ र स्थानीय जातको स्याउ १ सय ८० रुपियाँसम्ममा खरिद गरिरहेका छन्।
जिल्लाका ८ सय ३० हेक्टर क्षेत्रफलमा स्थानीय र ६५ हेक्टरमा उच्च घनत्वको स्याउ खेती गरिएको छ। थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका स्याउ बिक्री भइरहे पनि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बगैँचाको स्याउ कात्तिकको दोस्रो सातासम्म बजारमा पुग्ने बताइएको छ। मुस्ताङको स्याउ स्वादिलो, अर्गानिक र लामो समयसम्म ताजा रहने भएकाले बजारमा यसको माग उच्च छ।

