काठमाडौं: नबिल बैंक लिमिटेडले मोबाइल एपमार्फत प्राप्त गर्न सकिने र क्यूआर कोडबाट भुक्तानी गर्न मिल्ने गरी ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। बैंकले असोज २९ गतेदेखि आफ्नो एनबैंक एपमार्फत यो सेवा उपलब्ध गराएको हो।
बैंकका अनुसार योग्य ग्राहकले एनबैंक एपको होमपेजमा रहेको ‘अपलाइनाउ’ विकल्पमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्। बैंकको आफ्नै तथ्यांक विश्लेषण प्रणालीमार्फत पूर्वस्वीकृति पाएका ग्राहकले मात्र एपमा उक्त विकल्प देख्न पाउनेछन्। यस कार्डमार्फत ग्राहकले फोनपे मर्चेन्ट क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई सहज र सरल बैंकिङ सेवा उपलब्ध गराउनु बैंकको प्राथमिकता रहेको बताए। उनले डिजिटल प्रविधिको प्रयोगबाट ग्राहकले बैंक शाखामा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा व्यक्त गरे। यो सेवा सञ्चालनका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
परम्परागत क्रेडिट कार्डका लागि आवश्यक पर्ने कागजी प्रक्रिया र अन्य औपचारिकता पूरा नगरी डिजिटल माध्यमबाटै क्रेडिट सुविधा लिन सकिने बैंकले जनाएको छ। डिजिटल वित्तीय सेवाको बढ्दो मागलाई सम्बोधन गर्न यो सेवा सुरु गरिएको बैंकको भनाइ छ। नबिल बैंकले हाल देशभर २६२ शाखा र ३१६ एटीएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

