काठमाडौं: नेपाल टेलिकमले आफ्ना फाइबर टु द होम (एफटीटीएच) प्रयोगकर्ताहरूका लागि वाइफाइ ६ प्रविधिसहितका नयाँ इन्टरनेट प्याकेजहरू सार्वजनिक गरेको छ। यी नयाँ प्याकेजहरू भोलिदेखि लागू हुने कम्पनीले जनाएको छ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा जडानका लागि विभिन्न गतिको प्याकेज ल्याइएको छ। नयाँ व्यवस्थाअनुसार १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ। साथै, कम्पनीले ३० एमबीपीएस गतिको इन्टरनेट सेवा वार्षिक चार हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ।
सबै नयाँ प्याकेजहरूको समयावधि १२ महिनाको रहनेछ। वार्षिक प्याकेज छनोट गर्ने ग्राहकहरूले ८०० देखि एक हजार एमबीसम्म मोबाइल डेटा सुविधा पनि प्राप्त गर्नेछन्। यसका साथै, नयाँ प्याकेज जडान गर्ने ग्राहकहरूलाई ५०० रुपैयाँ जडान शुल्क नलाग्ने व्यवस्था गरिएको टेलिकमले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

