काठमाडौं। दसैँ पर्व नजिकिएसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ।
दसैँको नवरात्रि सुरु भएसँगै चाडपर्वका लागि आवश्यक सामान खरिद गर्ने ग्राहकको चाप बजारमा बाक्लिएको स्थानीय व्यवसायीहरूले बताएका छन्।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमका अनुसार पछिल्ला केही दिनयता बजारमा मानिसको आवतजावत र किनमेल गर्ने क्रम बढेको हो। विशेषगरी खाद्यान्न र नयाँ कपडाका पसलहरूमा ग्राहकको भीड बढेको छ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सप्तमी अर्थात् फुलपातीको दिनसम्म बजारमा चहलपहल रहने अपेक्षा गरिएको छ।
सङ्घले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै उपभोक्तालाई सहुलियत प्रदान गर्न उपभोग्य वस्तुमा छुटको व्यवस्था गरेको छ। अध्यक्ष गौतमका अनुसार चामल, दाल, चिनी, खानेतेल, पिठो र चिउरा जस्ता खाद्य सामग्रीमा ५ रुपियाँदेखि ५० रुपियाँसम्म छुट दिइएको छ। सङ्घले बजारका व्यापारीहरूलाई सो निर्णय कार्यान्वयन गर्न अनुरोधसमेत गरेको छ।
यद्यपि, बजारमा खाना पकाउने एलपी ग्यासको भने अभाव देखिएको छ। मागअनुसार ग्यास आयात हुन नसक्दा उपभोक्ताहरूले समस्या भोग्नुपरेको व्यवसायीहरूले जानकारी दिएका छन्।

