काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालले चार खर्ब ३६ अर्ब ३६ करोड रुपियाँ रेमिट्यान्स प्राप्त गरेको छ।
नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो। भदौ महिनामा मात्र दुई खर्ब २१ अर्ब ३१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले बढेर दुई अर्ब ८५ करोड पुगेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ।
आर्थिक सूचकहरूमा मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको भदौमा मुद्रास्फीति १.८७ प्रतिशत मात्र थियो। साउनमा ५.९६ प्रतिशत रहेको मूल्यवृद्धि भदौमा थप बढेको हो। खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.६९ प्रतिशत रहेको छ।
देशको कुल विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपियाँ पुगेको छ, जुन १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बैङ्कले जनाएको छ। शोधनान्तर स्थिति एक खर्ब ८७ अर्ब ६८ करोड रुपियाँ बचतमा छ। यस अवधिमा निर्यात ६१.९ प्रतिशत र आयात ३१.६ प्रतिशतले बढेको छ।
सरकारको खर्च एक खर्ब ९९ अर्ब ८४ करोड रुपियाँ रहँदा राजस्व परिचालन एक खर्ब ८३ अर्ब २१ करोड रुपियाँ भएको छ। बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ। वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशत कायम भएको छ।

