काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ।
राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो। यो निक्षेप २०२६ नोभेम्बर २ देखि २०२७ नोभेम्बर २ सम्म गरी ३६६ दिनका लागि रहनेछ।
बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूमा १९ अर्ब ८६ करोड ९४ लाख, ‘ख’ वर्गका बैंकहरूमा ३ अर्ब ७२ करोड ५५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा १ अर्ब २४ करोड १८ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा राखिनेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक ११ गतेभित्र आफ्नो ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ। राष्ट्र बैंकले यसका लागि केही सर्तहरू तोकेको छ।
जसमा बैंकको न्यूनतम पुँजीकोष कायम भएको, सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा अनुपात ८ प्रतिशत तथा खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा कम हुनुपर्ने उल्लेख छ।
साथै, बैंकले तोकेको न्यूनतम खुद तरल सम्पत्ति सीमा कायम गरेको हुनुपर्नेछ। तोकिएका सर्तहरूभन्दा बाहेक अन्य थप सर्तहरू राखेर पेस गरिएको प्रस्ताव मान्य नहुने बैंकले स्पष्ट पारेको छ।

