काठमाडौं। गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर जगदम्बा मोटर्सले बुटवलमा नयाँ स्कुटर टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको छ।
नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले यसलाई १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ।
स्कुटरको अनावरण जगदम्बा मोटर्सका राष्ट्रिय बिक्री प्रमुख हरि न्यौपाने, व्यवसाय विकास प्रमुख धनीराम भुसाल तथा बालाजी अटोमोबाइल्सका प्रतिनिधिहरूले संयुक्त रूपमा गरेका थिए। कम्पनीका अनुसार यसमा १४९.७ सीसीको एयर-कुल्ड ओथ्रीसी टेक इन्जिन जडान गरिएको छ। यसले ७ हजार आरपीएममा १३.२ पीएस पावर र ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ।
स्कुटर ६.३ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्षम छ भने यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ। डिजाइनका हिसाबले यसमा प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङ्लेट, जेट शैलीका भेन्ट, एलोय ह्विल र टी आकारको टेललाइट समावेश छन्।
यसमा टीभीएस स्मार्टएक्सकनेक्ट प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। जसमा टर्न-बाइ-टर्न नेभिगेसन, पार्किङ गरिएको अन्तिम स्थानको जानकारी, कल तथा सन्देशको सूचना र राइड मोडजस्ता विशेषताहरू छन्।
कार्यक्रममा जगदम्बा मोटर्सका राष्ट्रिय बिक्री प्रमुख न्यौपानेले एनटर्क १२५ को आगमनले स्कुटरको कार्यक्षमता, शैली र आधुनिक प्रविधिमा ग्राहकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे।

