काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटी र ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्तबीच भएको यो सम्झौताले लघुवित्तका ग्राहकलाई आधुनिक बैंकिङ सेवामा जोड्ने लक्ष्य राखेको छ।
यस सहकार्यपश्चात् डिप्रोक्स लघुवित्तका ग्राहकले अन्य बैंकका ग्राहकसरह नै डिजिटल भुक्तानी र कार्ड सुविधाको लाभ लिन सक्नेछन्।
एससीटीद्वारा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डयुक्त नेटवर्कमार्फत अब लघुवित्तका सदस्यले डिजिटल भुक्तानी सुविधा पाउनेछन्।
संस्थाका प्रतिनिधिहरूका अनुसार यो सहकार्यले नेपालको ग्रामीण तथा विपन्न वर्गसम्म आधुनिक वित्तीय प्रविधि र डिजिटल बैंकिङ सेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
लघुवित्त क्षेत्र परम्परागत बैंकिङ पद्धतिमा मात्र निर्भर रहँदै आएको अवस्थामा डिप्रोक्स लघुवित्तको यो कदमलाई वित्तीय समावेशीकरण र फिनटेक इकोसिस्टमको विकासका लागि एक महत्त्वपूर्ण उपलब्धि मानिएको छ।
