काठमाडौं: नेपाल-चीन सीमास्थित तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन नेपाल हिमालय सीमापार बाणिज्य संघले माग गरेको छ। कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा आएको यो नाका हाल साताको तीन दिन मात्र खुल्ने गरेको छ।
नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार नाका पूर्ण रुपमा सञ्चालन नहुँदा चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं र तिहारलगायतका चाडपर्व लक्षित सामग्री बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन्। उनले भने, “चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका छन्, अस्थायी रुपमा तीन दिनमात्रै सञ्चालनमा आएको नाकाबाट ती सामान ल्याउन सम्भव छैन, त्यसैले नियमित रुपमा सञ्चालन आवश्यक छ।”
रोकिएका कन्टेनरहरूमा नाशवान् वस्तु, कृषि उत्पादन र मौसमी व्यापारिक सामग्री रहेका छन्। अन्य नाकाहरू सञ्चालनमा नरहेको अवस्थामा व्यापार सहज बनाउन तातोपानी नाकाको पूर्ण सञ्चालन आवश्यक रहेको संघको भनाइ छ। यस विषयमा संघले चीन सरकार र नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षण पत्र बुझाएको महासचिव पराजुलीले जानकारी दिए।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार आइतबार तीन र सोमबार साँझसम्म सात वटा मालवाहक कन्टेनर भित्रिएका छन्। चीनले कार्गो ट्रकका लागि मात्र अनुमति दिएका कारण साना कन्टेनरहरू भने आउन सकेका छैनन्। भित्रिएका कन्टेनरहरूमा फलफूल, जुत्ता, तयारी पोशाक र कृषिजन्य सामग्री रहेका छन्।

