काठमाडौं: गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ६८५ जना पर्यटक मुस्ताङ पुगेकामा यस वर्ष सोही अवधिमा ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जनामा सीमित भएको छ।
प्रहरी निरीक्षक ईश्वर महतका अनुसार यस वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोज महिनामा १८ हजार ६०१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। गत वर्षको सोही अवधिमा साउनमा १९ हजार, भदौमा २३ हजार २०५ र असोजमा ७५ हजार ५९९ पर्यटक मुस्ताङ पुगेका थिए।
मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले प्राकृतिक विपत्तिका कारण पर्यटकको चहलपहलमा कमी आएको बताए। उनले भने, ‘प्रत्येक वर्ष असोज र कात्तिकमा उल्लेख्य पर्यटकको चहलपहल हुने मुस्ताङमा यसपटक सुनसानजस्तै रहेको छ।’
गत १० भदौमा रसुवाको भोटेकोसीमा आएको बाढी र ११ असोजको भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड दुई साताभन्दा बढी समय पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक सञ्जालमा भएको क्षति र यातायात अवरोधका कारण पर्यटक आगमन प्रभावित बनेको हो। सडक अवरुद्ध हुँदा केही पर्यटक पोखरा-जोमसोम हवाई मार्ग प्रयोग गरेर मुस्ताङ पुगेका थिए। कोरला सडक आयोजनाले बेनी-जोमसोम सडक मर्मत गरी सञ्चालनमा ल्याए पनि अझै पूर्ण रूपमा सहज भइसकेको छैन।

