चितवन: गैँडाकोटमा रहेको धार्मिक स्थल मौलाकालिका मन्दिरमा देवघाटबाट समेत केबलकार जोड्ने तयारी सुरु भएको छ। यसअघि गैँडाकोटतर्फबाट मन्दिरसम्म केबलकार सेवा सञ्चालनमा आइसकेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र ढकालको टोलीले चितवनको देवघाटबाट मौलाकालिका मन्दिरसम्म केबलकार निर्माणको प्रक्रिया अघि बढाएको हो। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले देवघाट आउने तीर्थयात्रीहरूलाई सहज रूपमा मौलाकालिका मन्दिर पुर्याउन केबलकार निर्माण गर्न लागिएको व्यवसायी ढकालले बताए।
हाल यस परियोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढाउने तयारी भइरहेको छ। ढकालका अनुसार सरकारी निकायबाट आवश्यक स्वीकृति लिन करिब एक वर्ष लाग्ने र त्यसपछिको एक वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
गैँडाकोटतर्फबाट सञ्चालनमा रहेको केबलकार प्रयोग गरी गत वर्ष करिब २ लाख भक्तजनले मौलाकालिका मन्दिरको दर्शन गरेको जानकारी दिइएको छ। व्यवसायी ढकालको टोलीले मन्दिर परिसरमा ‘इला’ नाम दिइएको अन्तर्राष्ट्रिय स्तरको होटल पनि सञ्चालनमा ल्याएको छ।
केबलकार सञ्चालनमा आएपछि मन्दिरको आम्दानी बढेको दाबी गरिएको छ। व्यवसायी ढकालले मन्दिरको आम्दानी ४० प्रतिशतले बढेको दाबी गरे पनि मन्दिर सञ्चालक समितिले भने गत वर्ष १५ प्रतिशतले आम्दानी बढेको जनाएको छ।

