काठमाडौं। दशैँमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको सञ्चालन मिति अनिश्चित बनेको छ।
बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण आवश्यक उपकरणहरूमा क्षति पुगेपछि र ढुवानीमा ढिलाइ भएपछि आयोजनाको तालिका प्रभावित भएको हो।
सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय, बुटवलका प्रमुख नवराज बास्तोलाका अनुसार सुरुङका लागि आवश्यक विद्युतीय उपकरणहरू चीनबाट ल्याउने क्रममा बाढीका कारण समस्या उत्पन्न भएको छ।
रसुवागढी नाका हुँदै ल्याइने उपकरण बाढीले बगाएपछि अहिले नयाँ खरिद गरी वैकल्पिक मार्गबाट ल्याउने प्रक्रिया अघि बढाइएको छ।
कालीगण्डकी नदीमा आएको बाढीले सडक बगाउँदा कोरला नाकाबाट हुने ढुवानी पनि प्रभावित भएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ मा निर्माणाधीन यो सुरुङ १ हजार १२६ मिटर लामो र साढे ८ मिटर चौडा छ।
आयोजनाको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत र वित्तीय प्रगति ६८ प्रतिशत पुगेको छ। सुरुङको मुख्य संरचना निर्माण भइसकेको छ भने हाल भित्ता र सडकको ढलान, रङरोगन तथा फिनिसिङको काम भइरहेको छ। आपतकालीन निकासका लागि तीनवटा बाइपास सुरुङहरू निर्माण गरिएका छन्।
अब भित्र बत्ती, पंखा तथा भेन्टिलेसन जडान गर्ने इलेक्ट्रो-मेकानिकल काम र सुरुङको दुवैतर्फ सडक ढलान गर्ने काम बाँकी छ। २०८० माघ ४ गतेबाट निर्माण सुरु भएको यो आयोजनाको ठेक्का सम्झौताअनुसार सम्पूर्ण काम २०८३ चैतभित्र सम्पन्न गर्नुपर्ने छ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको यस सुरुङमार्गको लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ। सिद्धार्थ राजमार्गको यो खण्ड लामो समयदेखि पहिरोको उच्च जोखिममा रहँदै आएको छ।
सरकारी तथ्यांकअनुसार पछिल्लो १० वर्षमा यहाँ पहिरो र दुर्घटनामा परी ८० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। सुरुङमार्ग निर्माणपछि यस क्षेत्रमा हुने जोखिम न्यूनीकरण भई यातायात र आर्थिक गतिविधिमा सुधार आउने स्थानीयको अपेक्षा छ। सुरुङमार्गको प्रवेश विन्दूमै सिद्धबाबा मन्दिर रहेकाले यसले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ।
