काठमाडौं। रामेछापको तामाकोशी नदी किनारका फाँटहरूमा धानबाली पाकेर पहेँलपुर भएको छ।
दसैँको रमझम सुरु भएसँगै किसानहरू खेतमा धान काट्ने, सुकाउने र भित्र्याउने काममा व्यस्त बनेका छन्।
वर्षभरि गरेको मिहिनेतको प्रतिफल भित्र्याउने चटारोमा किसानहरू जुटेका हुन्। नेपालको प्रमुख खाद्यबालीका रूपमा रहेको धानले ग्रामीण अर्थतन्त्र र किसानको जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
विशेषगरी तराई, भित्री मधेस र पहाडी क्षेत्रका सिँचाइ सुविधा भएका स्थानमा धान खेती गरिन्छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा धान उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०८२/८३ मा उत्पादन घटेर ५७ लाख ५ हजार १२६ मेट्रिक टनमा सीमित भएको छ। धान उत्पादनमा मौसमको ठूलो भूमिका रहने गर्छ।
खडेरी, बेमौसमी वर्षा, बाढी र सिँचाइको अभावले उत्पादनमा असर पार्ने गरेको छ। धान खेतीलाई दिगो बनाउन उन्नत बीउ, मलखाद, सिँचाइ र कृषि प्रविधिको प्रयोग आवश्यक रहेको छ।
नेपालमा सामान्यतया असारदेखि साउनसम्म रोपाइँ गरिन्छ भने स्थान र जातअनुसार असोजदेखि मंसिरसम्म बाली भित्र्याउने गरिन्छ।
