काठमाडौं: अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समयसीमाभित्र वित्तीय प्रतिवेदन नबुझाउँदा ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर अर्थात् करिब २९ लाख अमेरिकी डलर जरिवाना तिरेका छन्। अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी) ले बुधबार दिएको जानकारीअनुसार प्रत्येक कम्पनीलाई एक लाख ९८ हजार अस्ट्रेलियाली डलरका दरले जरिवाना गरिएको हो।
ती कम्पनीहरूले सन् २०२५ जुन ३० मा समाप्त भएको आर्थिक वर्षको वित्तीय प्रतिवेदन अक्टोबर ३१ भित्र बुझाउनुपर्ने कानुनी व्यवस्था थियो। तोकिएको समयसीमाभित्र प्रतिवेदन नबुझाएपछि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो। जरिवाना तिर्ने कम्पनीहरूमा भिसी इन्डस्ट्रिज अस्ट्रेलिया, भिसी प्याकेजिङ र प्राट कन्सोलिडेटेड होल्डिङ्सलगायत रहेका छन्।
आयोगकी आयुक्त केट ओरुर्कले यस कारबाहीले वित्तीय प्रतिवेदनसम्बन्धी नियम पालना गराउन नियामक निकाय प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको बताइन्। वित्तीय प्रतिवेदन समयमै बुझाउनु कम्पनीहरूको अनिवार्य नियामकीय दायित्व हो। यस कारबाहीमार्फत आयोगले निर्धारित समयसीमाको पालना सुनिश्चित गर्दै कम्पनीहरूलाई जवाफदेही बनाउन खोजेको जनाएको छ।

