काठमाडौं: बडादसैँको अवसरमा धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ। कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग उच्च रहेकाले गत वर्षको तुलनामा यस वर्ष कारोबारमा करिब १५ प्रतिशतले वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए।
गत वर्षको दसैँमा सो बजारबाट रु २३ करोड बराबरको खसीबोका किनबेच भएको थियो। दसैँमा मासुको खपत बढ्ने भएकाले धरानको खसीबोका बजारमा कारोबार बर्सेनि बढ्दै गएको व्यवस्थापक भट्टराईले बताए। यस बजारमा विशेषगरी बिहीबार र शुक्रबार खसीबोकाको बजार लाग्ने गर्दछ।
धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर र तेह्रथुम लगायतका पहाडी जिल्ला तथा इटहरी, मोरङको कानेपोखरी र बेलबारी जस्ता तराईका क्षेत्रबाट किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि यहाँ आउने गरेका छन्। धरानमा खरिद बिक्री हुने खसीबोका छिमेकी देश भारतसम्म निर्यात हुने गरेको बजार व्यवस्थापन समितिले जनाएको छ। कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषिउपज बजारले किसानलाई बजार पहुँच उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा समेत योगदान पुर्याएको छ।

